21 Oct 2018   |   
logo
विचार/अन्तरवार्ता

बहसमा निजगढ विमानस्थल



विचार/अन्तरवार्ता   528 पटक पढिएको   हरि अधिकारी   २०७५ असोज १६ मंगलवार  

हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।

 त्यसैले उनीहरुले बनाएका ठूला ठूला परियोजनामा वातावरणीय पक्षलाई उचित ध्यान नदिएर उनीहरु पछुताएका अनुभव पनि छन् ।

उनीहरुको अनुभव र गल्तीले हामीलाई विकास र वातावरणबीच बुद्धिमत्तापूर्ण सन्तुलनको बिन्दु खोज्न सघाउँछ । हामीकहाँ अहिले विकसित देशले अपनाएका विकास र वातावरणका धेरै एजेन्डा आएका छन । निजगढ विमानस्थलको रुख काट्ने बहस पनि यही हो । यसलाई हामीले गम्भीर सतर्कताका साथ हेर्नुपर्छ ।

नेपालमा सबैभन्दा सम्भाव्यता भएको क्षेत्र पर्यटन नै हो । देशलाई समृद्धीतर्फ लैजाने हो भने पर्यटन क्षेत्रलाई माथि उठाउनै पर्छ । अहिले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनको योगदान २.६५ देखि ३ प्रतिशत मात्रै छ । यसलाई बढाउन पर्यटन पूर्वाधारको निर्माण र प्रवद्र्धनमै जोड दिनुपर्ने हुन्छ । त्यसका लागि ठूलो एयरपोर्ट पहिलो शर्त हो ।

वातावरण संरक्षण ऐन– ०५३ मा ‘वातावरणीय प्रभाव मूल्यांकन’ भन्नाले कुनै परियोजनाको कार्यान्वयन गर्दा सो परियोजनाले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने वा नपार्ने, त्यस्तो प्रभावलाई कुनै उपायद्वारा न्यूनीकरण गर्न सकिने वा नसकिने सम्बन्धमा यकिन गर्न तयार गरिने विस्तृत अध्ययन तथा मूल्याकनसम्बन्धी प्रतिवेदन सम्झनुपर्छ’ भन्ने उल्लेख छ ।

प्रतिवेदनमा विमानस्थल निर्माणले पार्ने वातावरणीय प्रभावको सामान्य टिप्पणी मात्र गरिएको छ, वैज्ञानिक विवेचना र समीक्षा छैन ।वातावरणीय प्रभाव मूल्यांकन भनेको मात्रात्मक (क्वान्टिटेटिभ) विश्लेषण हो, गुणात्मक (क्वालिटेटिभ) विश्लेषण होइन । विज्ञहरूले प्रस्तावित निर्माणस्थल हात्तीलगायत वन्यजन्तुको हिँड्ने मुख्य बाटो भएको, पाटे बाघ लगायतका जनावर र बिरुवाको बिबिधताले धनि क्षेत्र उल्लेख गरेका छन  । तर, प्रतिवेदन वन्यजन्तु करिडोरको महत्व र त्यसको विनाशपछि निम्तिन सक्ने जोखिम न्यूनीकरणबारे केही बोल्दैन, त्यसबारे अध्ययन नै छैन । नेपालमा गरिने अधिकांश ईआईए प्रतिवेदनमा वातावरणका यस्ता सेवा र सुविधालाई सुक्ष्म ढंगले केलाउने प्रयास गरेको देखिँदैन । 

फलस्वरूप हाम्रो विकासले धेरै विनाश निम्त्याएको छ । काठमाडौंलगायत ठूला सहरहरूको बस्नलायक सूचांक, गाउँमा भइरहेको डोजरे विकास, हाम्रा नदीनालाहरूको अवस्था, हामीले श्वास फेर्ने हावा, पिउने पानी र खाने तरकारीको गुणस्तरलाई हेर्दा विनाशको त्यो तस्बीर देखिन्छ । पारित भएको भनिएको निजगढको ईआईए प्रतिवेदन स्थापित मापदण्ड पनि पूरा नगर्ने कमसल छ, थप वातावरणीय सुरक्षा त परको कुरा । अझ सरकार डिपिआर तयार नगरी काम अघि बढाउने प्रक्रियामा छ ।

निजगढ विमान स्थल क्षेत्रीय हव बनाउने अवधारणा अन्तर्गत ४० वर्षअघि परिकल्पना गरिएको आयोजना हो । भौगोलिक अवस्थितिको सुविधासँगै घरेलु वायुसेवाको वृद्घि अनिवार्य सर्त हो, हवका लागि । विगत४० वर्षमा मानव इतिहासमै सबैभन्दा बढी प्रविधिको विकास भएको छ । ४० वर्र्ष अघिका बोइङ ७०७ विमानले अधिकतम १२ घन्टा यात्रा नरोकिकन तय गर्न सक्थ्यो ।

अहिले एयरबस कम्पनीका विमान ए ३५० र बोइङ कम्पनीका ७८७ समूहका अत्याधुनिक विमानले १६ देखि १८ घन्टासम्मको यात्रा नरोकिकन सजिलै तय गर्छन । २० घन्टाको ‘नन स्टप’ उडान सुरु हुने क्रममा छ । प्रविधिले यो अवधिमा विमानको नरोकिकन गरिने यात्रा क्षमतालाई ४—५ घन्टा बढाएको छ । त्यसकारण त्यतिबेला सोचे जस्तो अन्तर्राष्ट्रिय चल्तीको ट्रान्जिट बैंकक, हङकङ, सिंगापुर, दुबई, क्वालालम्पुरसम्म नपुगी ४—५ घन्टा अघिको दूरीमा रहेको निजगढमा यात्रु ओराल्नुपर्ने प्राविधिक कठिनाइ अब छैन । 

उड्डयन प्रविधिमा भएको विकासले हव हुन सक्ने भौगोलिक सुविधाको सम्भावनालाई खारेज गरिसकेको छ । तराई काठमाण्डौ जोडिने फाष्ट ट्रयाक यहीबाट जाने हो, प्रस्तावित पूर्व(पश्चिम रेलमार्ग यही भएर बन्ने हो, मोतिहारी (अमलेखगञ्ज पेट्रोलियम पाईपलाइन यहाँबाट बीस मिनेटको दूरीमा पर्छ, भारत–तराइ जोडिने मानवत मटिअर्वा रोड यसकै छेउमा छ, नेपालको एकमात्र सुख्खा बन्दरगाह यहाँबाट पच्चीस मिनेटको दूरीमा छ, पूर्व (पश्चिम हुलाकी मार्ग यहाँबाट पन्ध्र मिनेटको दूरीमा छ, पूर्व–पश्चिम राजमार्ग यही भएर गएको छ । विकास भनेको विद्यमान स्रोतको उचित उपयोग हो । स्रोतलाई नै मासेर गरिने विकासको के अर्थ ? निजगढको हकमा आवश्यकता, औचित्य र प्रभावलाई हेरेर उचित निर्णय होस र विकल्पहरुलाइ सुक्ष्म रुपमा केलाइयोस ।







5539384 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top