+९७७-९८५५०१८११८
logo
विचार/दृष्टिकोण

संचार क्षेत्रमा लैङ्गिक समानता र अवसर



विचार/दृष्टिकोण   297 पटक पढिएको   नानीमैया विष्ट   २०७४ फागुन २१ सोमबार  

फागुन २१, सोमवार, हेटौंडा | नेपाली पत्रकारिता जगतमा महिला सम्पादकहरुको नाम लिनु पर्दा औलामा गनिने जति मात्र छन् । त्यसको पछाडी कारण के हो त ? के महिला पत्रकारहरु त्यो स्थानमा पुग्नै नसक्ने हुन् त ? के वास्तवमै महिलाहरुको बौद्धिक स्तर, क्षमता र योग्यताले त्यहाँसम्म पुग्ने हैसियत नदिएको हो त ?

नेपाली पत्रकारिता जगतमा महिला सम्पादकहरुको नाम लिनु पर्दा औलामा गनिने जति मात्र छन् । त्यसको पछाडी कारण के हो त ? के महिला पत्रकारहरु त्यो स्थानमा पुग्नै नसक्ने हुन् त ? के वास्तवमै महिलाहरुको बौद्धिक स्तर, क्षमता र योग्यताले त्यहाँसम्म पुग्ने हैसियत नदिएको हो त ? तथ्यहरु अध्ययन गर्दा सुगम र केन्द्रमा महिला पत्रकारहरुको अवस्था, क्रियाशिलता टिकाउ वन्न सकिरहेको देखिदैन भने मोफसलमा झन कुन अवस्थामा होला ? अनुमान लगाउन कठिन छैन। मकवानपुर, चितवन देखि विरगन्जसम्मलाई कार्यक्षेत्र वनाउँदै एक दशकयता पत्रकारिता गर्दै आईरहनु भएका पत्रकार रमा कार्की (नाम परिवर्तित) नै पेशावाट पलायन हुनु परेको एक उदाहरण हुन् । समाचार संकलन देखि सम्पादन सम्ममै राम्रो दख्खल राख्दै आउनुभएकी कार्की मिहेनति र दक्ष भएपनि पत्रकारिता पेशामा टिक्न सक्नुभएन । उहाँ एक प्रतिनिधी पात्र मात्र हो । उहाँजस्तै अन्य धेरै महिला पत्रकारहरु पारिश्रमिकमा असमानता, क्षमता र बृत्ति विकासका लागि कम अवसर, पुरुष सहकर्मीले गर्ने व्यवहार,(सम्मानजनक र संवेदनशील नहुनु), कार्यस्थलमा बोलिने भाषा र प्रतिकुल व्यवहारका कारण पनि पलायन भएको देखिन्छ । साथै आफ्नो साधनस्रोत नहुँदा पुरुष साथीसँग लिफ्ट मागेर हिँड्नुपर्ने बाध्यतालाई चरित्रसँग जोडेर कुरा काट्ने प्रवृत्ति, सहकर्मी मात्रै होइन, सूचनास्रोत र आधिकारिक निकायमा रहने व्यक्तिहरु समेतले महिला पत्रकारलाई  गर्ने अविश्वास र अपमानका कारण धेरै महिला पत्रकारहरु अन्त्यसम्म यही पेशामा टिकिरहन सकेका छैनन । 

पत्रकारिता गर्दा साँझ विहान समेत नभनी खटिनुपर्ने हुन्छ । विवेष गरेर विवाहित महिला पत्रकारहरुका लागि कतिपय अवस्थामा घर परिवारबाटै असहयोग हुने गरेको पाईन्छ । पुरुष पत्रकारसरह काममा प्रतिस्पर्धा गर्न नसक्ने भनी कार्यक्षेत्रमा हतोत्साहित वनाउने, पारिश्रमिकमा विभेद, समयमा पारिश्रमिक नपाउने र असाध्यै न्यून पारिश्रमिकमा काम गर्नुपर्ने जस्ता अनगिन्ती समस्याका कारण पनि महिला पत्रकारहरु आफनो पेशामा दिगो रुपमा अडिन नसकेका हुन् । 

त्यसो त राष्ट्रिय मिडियामा काम गर्ने केही पुरुष पत्रकारहरु बाहेक स्थानीय मिडियामा काम गर्ने पत्रकारहरुले पनि कम समस्या चाँही भोगेका हुदैनन् । तर समस्या यति फरक हो कि महिला पत्रकारले व्यहोर्नुपर्ने लैङ्गिक असमानता चाँही उनीहरुले भोग्नुपर्दैन । ती मध्ये पनि सरकारी र राष्ट्रिय स्तरको मिडियाहरुमा काम गर्ने महिला पत्रकारको अवस्था फेरी अन्यको भन्दा राम्रै देखिएको छ । तर त्यहाँ पनि भनेको जस्तो अवसर अत्यन्त कमै मात्र महिला पत्रकारले पाएका छन् । 

नेपाली महिला पत्रकारको इतिहास :

नेपालमा १९५८ बाट प्रकाशन शुरु गरेको गोरखापत्र नै नेपाली पत्रकारिताको सुरुवातको विन्दु हो । तर महिला आबद्ध भएर ‘महिला मासिक’ नामको पत्रिकामा महिलाले नै सम्पादन गरेको इतिहासको शुरुवात भने वि.स.२००८ साललाई लिइन्छ । नेपालको पहिलो महिला सम्पादकको भूमिका निर्वाह गर्नेमा साधना प्रधान र कामाक्षादेवी हुन् । दुईजना आटिला महिलाहरुले शुरु गरेको ‘महिला मासिक’ नेपाली माटोमा राम्रैसँग फस्टायो । जसमा थुप्रै हस्तीहरुले काँधमा काँध मिलाएर नेपाली पत्रकारितामा महिला पत्रकारहरुलाई बाटो देखाउने काम गरे । त्यस्तै कुन्तिदेवीको सम्पादनमा ‘प्रतिभा’, रमादेवीको सम्पादनमा ‘जनविकास’, लक्ष्मीदेवी चित्रकारको सम्पादनमा ‘ज्ञान विकास’, शशिकला शर्माको सम्पादनमा ‘स्वास्नीमान्छे’ लगायतका प्रकाशनहरु २०२४ सालसम्म आइपुग्दाका राम्रा र आशा लाग्दा प्रकाशनहरु रहेको २०६८ मा पत्रकार तृष्णा कुँवरले लेखेको लेखबाट देखिन्छ । 

यो अवधीमा राजनीतिक संगठन विशेषगरी नेपाल महिला संगठनले विभिन्न कालखण्डमा आफ्ना थुप्रै मुखपत्रहरु महिलाहरुले नै सम्पादन गरेर प्रकाशित भएको देखिन्छ । त्यसो त २०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि थुप्रै महिला हस्तीहरुले आफ्नो पकट जमाए । हामीले सुनिरहने नामहरु शान्ता श्रेष्ठ, धन लामा, कृष्णा ताम्राकार, बन्दना राणा, निर्मला आचार्य, माया गिरी, दिपा गौतम, विना गुरुङ, नुपुर भट्टाचार्य, मनिषा घिमीरे, रन्जना शर्मा, लगायतका अग्रणी महिला संचारकर्मीहरु सोही समयबाट स्थापित भए । सार्वजनिक सभासम्मेलन, सूचना, नाटक, समाचार आदिमा महिलाका स्वरहरु र प्रस्तुतीहरु समाजमा छाउन थाल्यो । २०४६ को परिवर्तनपछि राजधानीका मात्र होइन, राजधानी बाहिरका छोरीहरुले आफ्नो अधिकार र कामको बारेमा बुझ्ने मौका पाए । क्षेत्री बाहुन मात्र होइन, जनजाती, दलित, मधेसी लगायतका समुदायका छोरीहरुलाई थप उर्जा मिलेको देखिन्छ । बविता बस्नेत, यशोदा तिमल्सिना, अनिता विन्दु, निर्मला शर्मा, प्रतिमा बाँसकोटा, आरती चटौत लगायतका अग्रणी महिला पत्रकारहरु ०४६ को परिवर्तनले जन्माएको हो भन्दा फरक नपर्ला । त्यही समयदेखि संचारक्षेत्रमा तिव्रगतिमा विकास भएको पाइन्छ । हामी अहिले त्यही जगमा टेकेर हिडिरहेका छौं । 

महिला पत्रकारको अवस्था :

नेपाल पत्रकार महासंघको पछिल्लो डाँटा अनुसार देशभर १० हजार पत्रकार छन् । त्यसमा महिला पत्रकार जम्मा १६.५ प्रतिशत मात्र छन् । त्यो पनि धेरैजसो एफ.एम. र टेलिभिजनमा काम गर्ने छन् । प्रिन्ट मिडियामा काम गर्ने महिला पत्रकारहरुको संख्या न्युन छ । यो निकै दया लाग्दो र सोचनीय अवस्था हो । राइजिङ नेपालका डा. रविनमान शाक्यले सन २०१५ मा गरेको एक अध्ययनका अनुसार, देशभर ९ हजार पत्रकारमा महिला पत्रकारको संख्या जम्माजम्मी ८ सय मात्र रहेको छ ।

त्यस्तै संचारिका समूहले सन् २०११ मा काठ्माण्डौ उपत्यकामा पत्रकारिता गरिरहेका महिला पत्रकारहरुको अवस्थाबारे गरेको अध्ययनमा ६५ प्रतिशत महिला पत्रकारहरु एफ.एम.मा कार्यरत्त रहेको देखाएको थियो । जसमध्ये १९ प्रतिशत टेलिभिजनमा, १२ प्रतिशत रेडियोमा र ४ प्रतिशत डिजिटल मिडियामा काम गर्छन् । त्यस्तै अध्ययनले अर्को के पनि देखाएको थियो भने ५४ प्रतिशत महिला पत्रकारहरु प्रिन्ट मिडियामा काम गर्छन् भने ३७ प्रतिशत इलोक्ट्रोनिक मिडियामा काम गर्छन् । त्यसो त त्यहि अनुसन्धानबाट के पनि पत्ता लागेको छ भने ७५ प्रतिशत महिला पत्रकार निजी क्षेत्रको मिडिया हाउसमा काम गर्छन भने २५ प्रतिशत सरकारी मिडियामा काम गर्छन् । 

नेपाल पत्रकार महासंघ सबै पत्रकारको छाता संस्था हो । यसले विशेषगरी श्रमजीवी पत्रकारहरुको हक, अधिकारको वकालत गदै आएको छ । त्यतिमात्र होइन पत्रकारका कर्तव्य र दायित्वको विषयमा पनि पत्रकारलाई झक्झकाउने काम गर्छ । तर यसले शुद्धिकरणको सवालमा ध्यान दिन आवश्यक छ । कतिपय अनुभवी र वरिष्ठ पत्रकारहरुले नै यो तिमीहरुले गर्ने पेशा होइन भनेर हत्तोत्साही गर्ने प्रवृत्ति वढ्दो छ ।  तर यति हुँदाहुँदैपनि अहिले अर्को उत्साहजनक पाटो भनेको पत्रकार महासंघको केन्द्रमा उपाध्यक्ष पदसम्म यशोदा तिमल्सिना, अनिता विन्दु पुगेका छन् । जिल्लामा पनि उपाध्यक्ष अनिवार्य महिला हुनपर्ने बाध्यकारी अवस्था आएपछि त्यसले अलि उर्जा थपेको छ । तर पनि सरसर्ती हेर्दा के निचोड निकाल्न सकिन्छ भने, अझैपनि नेपाली महिला पत्रकारहरुले अन्तिम समयसम्म आफुलाई यही पेशामा टिकाई राख्न सक्लान् र ? यस्ता प्रश्न जन्माईदिएका छन् । उनीहरुले आफ्नो सम्पूर्ण उर्जा यो क्षेत्रमा लगाईसक्दा पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको गुनासो समेत गर्ने गरेको भेटिन्छ । 

पत्रकारितामा समानता र अवसर :  

पत्रकारिता यस्तो पेशा हो त्यो पुरुष पत्रकार वा महिला जसले गरेपनि त्यसमा भिन्नता आउदैन । त्यसले दिने परिणाम एउटै हो । समाजप्रतिको उत्तरदायित्व मनन् गरी आफ्ना आचार संहितालाई पछ्याउदै गरिने पत्रकारिता खाली विचार, सीप, दक्षता, क्रियाशिलतामा निर्भर गर्छ । यो समाजले आर्थिक आर्जन नहुने घरायसी काम, बालबच्चा, परिवार त्यतिमात्र होइन घर र सांस्कृतिक परम्परा महिलाको टाउकोमा थोपरिदिएको छ । जसले गर्दा महिलालाई बाहिर काम गर्न सहज छैन । झन पत्रकारिता जस्तो सामाजिक अन्तरक्रियामा भाग लिदाँ महिला पत्रकारका निम्ति सामाजिक दृष्टिकोण रातारात कसरी परिवर्तन हुन्छ र । महिला पत्रकारहरु फिल्ड वा मिडिया हाउस जहाँ बसेर काम गरेपनि यहि समाज र संस्कारमा हुर्किएका व्यक्तिहरुले गर्ने व्यवहारमा लैङ्गिक समानता भेटाउन मुश्किल नै हुन्छ। राज्यको महत्वपूर्ण निकायहरु राष्ट्रपति, प्रधानन्यायधिस, सभामुख तथा विभिन्न सरकारी निकायमा महिलाले नै नेतृत्व गरिरहेको हामीले देखिरहेका छौ । यो देख्दा आफैमा उर्जा र उत्साह बढ्छ । त्यसैले आइपर्ने व्यवधानहरुलाई चिर्न सके उपलब्धी प्राप्त गर्न सकिन्छ । अहिले राष्ट्रिय मिडियाहरु एकपछि अर्को खुल्दै गएका छन् । ती मिडियाहरुमा दक्ष पत्रकार महिलाहरुलाई स्थान दिइनुपर्छ । ठूला लगानीका मिडिया हाउसहरुमा अहिले पनि निर्णायक तहमा महिला संचारकर्मीहरुलाई पु¥याइदैन । एउटै मिडिया हाउसमा उही दक्षता, उमेर, अनुभव, लगानी भएपनि महिला र पुरुष मध्ये पुरुष प्राथमिकतामा पर्ने गरेको छ । समान कामको समान पारिश्रमिक त हरेक मिडियाहरुमा अनिवार्य लागू गरिनुपर्छ । उता साना लगानीमा आफैले मिडिया चलाइरहेका महिला पत्रकारहरुलाई त्यसका सम्बन्धित निकायले विशेष योजना बनाउनुपर्छ । लगानीकै अभावमा खुम्चिरहेका महिला पत्रकारका निम्ति सहुलियत ऋण, समानुपातिक विज्ञापन नीति, राज्यले दिने सूचना विज्ञापनहरु महिला पत्रकारको पहुँचसम्म पु¥याउने योजनाहरु बनाउन आवश्यक छ । महिला पत्रकारहरु निडर, स्वावलम्वी, दक्ष, क्रियाशील छन भने जस्तोसुकै व्यवधानलाई पनि चिरेर अगाडी बढ्नु पर्दछ र बढाउन प्रोत्साहित गरिनुपर्छ । पत्रकारिता क्षेत्र महिलाहरुको पनि हो भन्ने महसुस गराउन जरुरी छ । 






  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    30     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    31     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    76     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    187     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top