+९७७-९८५५०१८११८
logo
कला साहित्य

कथा : वार्तालाप



कला साहित्य    143 पटक पढिएको   -महेन्द्र ओझा    २०७५ आषाढ ०८ शुक्रवार   
कथा : बखत बहादुर थापा / नयाँ उम्मेदवारहरू यमराजकहाँ हाजिर होऊ । आकाशवाणी हुनेबित्तिकै हामी छिटोछिटो यमराजको बैठक कोठामा पुग्यौँ । यमराज सिंहासनमा विराजमान थिए । सिंहासनको हेन्डिलमा दाहिने हातको कुहुनो टेकाएर जुँगा बटार्दै थिए ।

कथा : वार्तालाप


उनको दायाँ र बायाँ दुवैतर्फ कलकलाउँदा ठिटीहरू उभिएर चमर हल्लाउँदै थिए । ‘जाडो महिनामा पनि हाम्रा राजालाई हावा दिनुपर्छ ?’ म आश्चर्यमा डुब्दाडुब्दै त्यस कोठामा बढ्दै गएको न्यानोले सम्हालिएँ । त्यस कोठामा पसेदेखि मन आनन्दित हुँदै गइरहेको थियो ! मानौँ कुनै बास्नाले मोहनी लगाएजस्तो, कुनै सुमधुर धुनले कानलाई फकाएजस्तो, शरीरले खोजेजस्तो वातावरण पाएर जीउ हलुका हुँदै गएजस्तो, त्यहाँको रङ्गीचङ्गी सजावटले मेरो दृष्टि तान्न थाल्यो । यमराजको दाहिनेतर्फ चित्रगुप्त बसेका थिए । उनका अगाडि निकै ठूलो ढड्डा, बहीखाता कोल्टे फेर्दाफेर्दै थामिएजस्तो लाग्थ्यो ! सायद हाम्रो उपस्थितिले होला ? बायाँतर्फ केही टाढा यमराजको वाहन महिष बसिरहेको थियो । त्यो आँखा चिम्लेर निकै आनन्दसँग उग्राउँदै थियो । मानौँ पशुहरूका निम्ति सबैभन्दा आनन्दको क्षण त्यही उग्राउनु नै हो जस्तो ! मेरो दृष्टि अलि परपर पुग्यो । ठूलाठूला तामाका भाँडामा आगोबिनै पानी उम्लिरहेको देखियो । सायद त्यही पानीको बाफको तरङ्गले कोठालाई न्यानो बनाइरहेको थियो ! 

“रोज, तिमीहरू कुन प्राणीको काल बन्न इच्छुक छौ ?” यमराजको ठूलो स्वरले मलाई झसङ्ग बनायो । मैले यमराजतिर हेरेँ । उनी भन्दै थिए, “कागजमा लेखेर चिट्ठा रोज्न दिऊँ ?” उनले आफ्नो तर्कमाथि गर्व गर्दै चित्रगुप्ततिर हेरे । 

चित्रगुप्त हाँसे ।

“प्रभु ! तपाईं अन्तरयामी हैन र ? हामीमध्ये कसलाई कुन प्राणीको काल बनाउन उचित ठहराउनुहुन्छ, आज्ञा दिनुहोस् ? हाम्रा लागि हजुरको निर्णय शिरोधार्य हुनेछ ।” प्वाक्क बोलिसकेपछि आज पनि म आफ्नो फतफते बानीदेखि दिक्कै भएँ ।

यमराजले मतिर आँखा तरेर झोक्किँदै भने, “जा, मनुष्यको कालको काम तैँ गर् !” 

प्राणीमध्ये सर्वश्रेष्ठ मनुष्यसँगको कार्यभार पाउँदा म दङ्ग भएँ । यदि चिट्ठा हालिएको भए मनुष्यकै काल बन्नु परोस् भन्ने कामना गर्दै रोज्थेँ हुँला ! आफूले सोचेकै पुगेपछि मेरो मन खुसीले गद्गद भयो । मेरो दृष्टि अभिमानले नाच्दै समकक्षिहरुको अनुहारसम्म पुग्यो । उनीहरू मुस्कुराए । 

‘बुद्धिजीवी प्राणीको काल बन्न यसैले पायो भन्ने पीरले भित्रभित्रै मुरमुरिएका होलान् !’ मैले साथीहरूको हाँसो आफ्नै अनुकूलतामा जोडेँ, तर यमराजले मलाई काम दिँदा सराप्दै छन् जस्तो गरेर रिसाउँदै आँखा तरेका थिए । मेरो प्वाक्क बोलिहाल्ने बानीकै फल हो त्यो ! जे होस्, यसमा मलाई घाटा नै के छ र ? 

मेरा साथीहरूमध्ये एउटालाई चारखुट्टे र घस्रिने प्राणीको काम दिए, अर्कोलाई वनस्पतिको र पछिल्लोले पक्षको प्राण हर्ने काम पायो । 

मैले फेरि साथीहरूको अनुहारमा हेरेँ । फेरि पनि तिनीहरू हाँसिरहेकै देखिए ।

हामीलाई नेपालको पहाडी भेगमा खटाइयो । 

जन्मनु र मर्नु नै सृष्टिको नियम हो । सचेत प्राणीहरूले यो नियम पालन गरिरहेकै होलान् । उनीहरू यस कामका लागि मेरो स्वागत गर्नेछन् भन्ठान्थेँ म, तर मेरो उपस्थितिले मनुष्यहरू रुने, कराउने र आमुन्नेसामुन्नेको वातावरण नै नीरस बनाइदिने गरेको देखेर छक्कै परेँ । उनीहरू जन्म होस्, मृत्यु नहोस् भन्ने कामना गर्छन् । जुन असम्भव छ । मृत्यु भनेको चार्ज सकिनु हो र जन्म भनेको आफ्नो कर्मअनुसार फेरि रिचार्ज भएर मत्र्यलोकमा आउनु हो ।  

‘ठहरै भएस् काल !’ मान्छेहरू हावामा धारे हात हल्लाउँदै भन्छन्, ‘बाँच्ने रहर हुँदाहुँदै टपक्क टिपेर लग्यो, नराम्रालाई लैजानु नि, राम्राराम्रालाई छाँटेर लिन्छ !’ गाली गरेको सुन्दा झनै अचम्भित हुन्छु । तिनका निम्ति तिनीहरू नै नराम्रो हुने कुरै भएन, मेरा लागि जो सृष्टिको नियम मिच्छन् ती सबै नराम्रा । मैले कसैलाई मार्ने भन्ने कुरा नै आउँदैन । जसको आयु सकिन्छ उसको आत्मालाई टपक्क टिपेर यमलोक पुर्रयाइदिने मेरो काम हो । यसका लागि मान्छेहरू मलाई दोषी ठानेर गालीगलौज किन गर्छन् जान्दिन ? उनीहरूको असन्तुष्टि, दुःख, पीडा, दोष, गाली भनेजस्ता कुराहरू स्वीकार्न बाध्य छु । यमराजले कामको बाँडफाँड गर्दा मदेखि रिसाएकै रहेछन् भन्ने कुरामा पनि विश्वस्त हुँदै छु ।

चित्रगुप्तले नमराजको मिति पुग्यो भनेपछि म उसलाई लिन पुगेँ । ऊ अधबैँसे थियो । कुनै कामविषेशले काठमाडौँ जाने तयारी गर्दै रहेछ । सर्ट प्यान्ट पट्याएर झोलामा राख्दै थियो र स्वास्नीलाई सुनाउँदै थियो, “काठमाडौँ पुग्नेबित्तिकै भगवान् पशुपतिनाथको दर्शन गर्छु ।” उसले स्वास्नीतिर हेर्दै भन्यो, “मेरी स्वास्नीको इच्छा पनि पुर्रयाइदिए भगवान् भनिदिउँला । त्यसपछि अफिसको काम फत्ते गर्छु र सिहंदरबार, राजदरबार हेर्छु । ठूलाठूला भवनमा लिफ्ट चढेर सर्र... माथि र तल गर्न पाइन्छ रे ! त्यसको आनन्द पनि लिनुपर्ला ! काठमाडौँको बाटोमा मान्छेभन्दा धेरै गाडी हिँड्छन् भन्ने पनि सुनेको छु ! वरपर जाँदा गाडी चढ्नुपर्ला !” स्वास्नीतिर आँखा सन्काउँदै उसले भन्यो, “भन् बूढी ! काठमाडौँबाट आउँदा तँलाई के ल्याइदिऊँ ?” 

“जिन्सको प्यान्ट र सेतो टिसर्ट खुब सुहाउने थियो तैँकन भन्नुभएको थियो हगि ? त्यही ल्याइदिनू ।” नमराजकी स्वास्नीले भनी र मस्किई ।

‘कपडा त किन्नैपर्ने भयो, स्वास्नीको जीउबाट उद्घाटन गराएर आफैँले प्रयोग गर्ने खालको किन्नुपर्ला !’ सोचेर नमराज मुस्कुरायो ।

उसको छोरो बाह्र वर्षको थियो । त्यसले मोबाइल ल्याइदिनू भन्यो र दस वर्षकी छोरीले तल्ला घरकी जुनेलीले लगाएको जस्तो कुर्तासुरुवाल र किताब बोक्ने झोलाको माग गरी । ती सबै नमराजलाई छोड्न तल बाटोसम्म आए । 

“राम्रोसँग जानू र राम्रैसँग फर्किनू है ।” नमराजकी स्वास्नीले भनी र तिनीहरू फर्कीफर्की हेर्दै घरतिर हिँड्न थाले । म चाहिँ फर्किन । मलाई नमराजको प्राण लिएर यमलोक जानु थियो । उसैको पछिपछि गएँ । 

नमराज तल खोलामा झ¥यो र खोलाको तीरैतीर हिँडिरहेको थियो । मैले भीरबाट ठूलै ढुङ्गो लडाएँ । त्यसदेखि जोगिन अर्कोतिर हामफाल्दै थियो खोलामा खस्यो । उसलाई पौडिन आउँदो रहेछ, मैले उसका खुट्टा समाएर पानीभित्र तानेँ । नमराजले खुट्टो छुटाउने कोसिस गर्दै पछाडि हे¥यो । मलाई देख्नेबित्तिकै उसका मुख र आँखा आश्चर्यले च्यातिएका च्यातिएै भए । मलाई देख्नेबित्तिकै बेहोस भइहालेछ । म त्यति भयानक छु भन्ने थाहै थिएन मलाई ! कतै गएर ऐना हेरूँ कि भन्ने विचार नआएको हैन, तर आफैँ बेहोस भएर लडेँ भने ! मैले ऐना हेर्ने विचार त्यागेँ र नमराजको शरीरबाट आत्मा निकालेर यमलोकतिर हानिएँ । 

म जति भयानक भए पनि मभन्दा ठूला कोही छन् । तिनले अह्राएको काम ठीक समयमा गर्नु मेरो कर्तव्य हो । बस यति सोचे पुग्थ्यो मलाई, तर नमराजले स्वास्नीसँग गरेको काठमाडौँको बयान भने मेरो मनले बिर्सिन सकिरहेको थिएन । 

एक दिन यमराजसँग बिन्ती गरेँ, “प्रभु ! मेरो काठमाडौँ सरुवा गरिदिनुप¥यो ।”

यमराजले जुँगा मुसार्दै चित्रगुप्ततिर हेरे । 

चित्रगुप्तले स्वीकृतिसूचक टाउको हल्लाए ।

केही दिनमै मेरो काठमाडौँ सरुवा भयो ।

धूवाँधूलो, भीडभाड, हल्लाखल्ला नहुँदा काठमाडौँ राम्रै थियो होला ! जता हे¥यो मान्छेमान्छे ! यस भीडमा एउटै नाम र एउटै उमेरका मान्छे पनि होलान् ! एउटालाई लिन भनेर आउँदा अर्कोलाई उठाइने पो हो कि भन्ने शङ्का लाग्यो, तर काम थालेपछि मैले सोचेजस्तो झुक्किने काम भएन । नाम र उमेर मिले पनि अनुहार मिल्दैनथ्यो, अनुहार मिल्यो भने नाम मिल्दैनथ्यो ! केही न केही नमिलेर मलाई सहयोग पु¥याइहाल्थ्यो । काठमाडौँको घना बस्तीले मेरो दौडधुप निकै बढाएको थियो । जतिखेरै भ्याइनभ्याई हुन्थ्यो । प्रायः म अस्पतालतिरै हुन्थेँ । 

एक दिन चित्रगुप्तले भने, “तिमी अस्पतालतिरै बस्ने नगर न, कहिलेकाहीँ सद्दे मनुष्यकै मिति पुग्छ, तिनलाई तुरुन्तै उठाउनु परेन ? जाऊ नक्कलको आयु सकिन थाल्यो !” 

म नक्कलको घरमा पुगेँ । दसैँतिहारमा जस्तो उसको घरमा झिलिमिली बत्ती बलिरहेको थियो । सबै हाँसीखुसी देखिन्थे । नक्कलले फूलको माला र निधारमा रातो टीका लगाएको थियो । भेट्न आउनेहरूको ताँती उस्तै । थुप्रैले उपहार पनि ल्याएका थिए । त्यो देखेर म छक्कै परेँ । मेरो स्वागतका लागि त पक्कै पनि हैन होला ! यो रमझम केका लागि रहेछ त ? बुझ्दै जाँदा नक्कललाई अमेरिका जाने चिट्ठा परेको रहेछ ! त्यो रमझम उसको बिदाइका लागि थियो । मैले आफ्नो काम सम्झेँ । नक्कलको प्राण लिएर हिँड्ने समय हुनै थालेको थियो । म उसको जीउमा चढेँ र अमेरिकाको साथीलाई लगिदिने कोसेली गुन्द्रुक सम्झाएँ । नक्कल दौडेर मोटरसाइकल भएको ठाउँमा पुग्यो र गिद्धे चढाइ चढ्यो । एकैछिनमा उसको मोटरसाइकल हावाको गतिमा दौडिन थाल्यो । मैले मोटरसाइकलको हेन्डिल फनक्कै घुमाएर ट्रकमा ठोक्याइदिएँ । 

नक्कलको टाउको फुट्यो, हातखुट्टा भाँचिए, रगतले लतपत भयो । ऊ बेहोश भयो ।

‘फूलको माला र निधारमा टीका लगाएर हाम्रै ट्रकमा ठोक्किन कहाँबाट आएको यो !’ दुःख प्रकट गर्दै ट्रकवालाहरूले हत्त न पत्त उसलाई अस्पताल पु¥याए । अस्पतालमा कोही लेखपढ गर्न थाले, कोही उपचार गर्न थाले भने कोही फोन गर्न थाले । एकछिनअघि गीत गुनगुनाउँदै नक्कललाई अमेरिका पठाउने तयारीमा जुटेकाहरू रुँदै चिच्च्याउँदै अस्पतालमा जम्मा भए । 

त्यत्रो भयङ्कर दुर्घटनामा परेर होसै गुमाएको मान्छेलाई बचाउन सक्लान् ? मलाई डाक्टरहरूको नाटक हेर्ने मन लागेपछि वरपर टहल्न थालेँ । 

“रिकभर भयो ! डाक्टरलाई धन्यवाद छ ।” 

मेरो ध्यान उत्साहित स्वरतर्फ गयो । नक्कलका आफन्तहरू अङ्कमाल गर्दै थिए । 

‘रिकभर भनेको के हो ?’ मेरो दृष्टि नक्कलतिर गयो । ऊ त चलमलाउन पो थालेछ ! मलाई उसको आत्मा लिएर यमलोक पुग्न हतार भइसकेको थियो । म सुटुक्क नक्कलको मुखबाट छिरेर घाँटीमा बसेँ । सासै फेर्न नसकेर नक्कल मर्रयो । उसका आफन्तहरू फेरि रुँदै वेदना पोख्न सुरु भए । 

“रिकभर भइसकेको मान्छे कसरी मर्रयो ?” 

“डाक्टरको लापर्बाही हो ।” 

“कालको जबरजस्ती हो ।” भन्ने स्वरले मलाई तर्सायो । 

“यो त अति नै भयो हो ! माइक्रोस्कोप ल्याऊ त, कहाँ छ त्यो काल !” 

मान्छेहरू जुलुस निकाल्न थाले । 

तोडफोड गर्न थाले ।

मलाई तिनको नाटक हेर्ने समय कहाँ थियो र ! नक्कलको आत्मा लिएर म यमलोकतिर कुदेँ । 

“ढिलो किन गरिस् ?” चित्रगुप्तले तात्तिए । 

“सहरबजारको रमझमले अलमल्यायो हजुर ।” मेरो मुख अँध्यारो भयो । 

“आफ्नो काममा ध्यान नदिएर सहरको विकास हेर्नुपर्ने तँलाई ! नियमकानुनअनुसार काम गर्नुपर्छ भन्ने थाहा छैन ? यो कर्मको फल दिइने ठाउँ हो, गल्तीको सजाय तैँले पनि पाउन सक्छस् !” 

चित्रगुप्त रिसाएको देखेर मलाई पनि झवाँक चल्यो । “कस्तो नियमकानुन ? सृष्टि रच्दाखेरि लेखिएको रेकर्डबही पल्टाएर नियमकानुनको कुरा गर्न मिल्छ ? प्राणीजति सबैको हिसाबकिताब यसैमा छ भनेर यो आदिकालीन खातामै घोप्टेर हुनेवाला छैन अब ! मान्छेहरूले जन्म र मृत्यु दर आफैँ व्यवस्थित गर्दै गइरहेका छन् । औसत आयु सत्तरी वर्ष कटाइसके ! साठी वर्षको उमेरमा पेन्सन पकाउँछन् र बसीबसी खाने र सुतीसुती हाँस्ने दिन पो आए त भन्छन् ! तिनको बहादुरी हेर्ने हो भने उनीहरूले मत्र्यलोकमा अर्कैलाई चित्रगुप्त बनाउन बेर छैन ! सहरमा आएदेखि मलाई आफ्नो काममा सफल हुनु नै ठूलो कुरा भइसक्यो ! केको ढिलो र चाँडोको कुरा गर्नुहुन्छ !” एकछिन थामिएपछि सम्हालिएर मैले निन्याउरो मुख लगाउँदै भनेँ, “मेरा लागि पहाडै ठीक थियो हजुर । अधबैंसेलाई उठाउनुपरेमा भीरबाट लडाइदिन्थेँ अथवा रूखबाट खसालिदिन्थे । कसैको मिति पुग्दै छ र रोग लगाउने हो भने तर्साइदिए पुग्थ्यो । धामीझाँक्री बसाल्थे । त्यसले ‘ठूलै भूतले भेटेछ’ भन्थ्यो र पीडितहरूको मनमा ठूलै डर जगाइदिन्थ्यो । रक्सी र भाले खाँदै गथ्र्यो । बिरामीलाई कालको मुखमा धकेल्दै गथ्र्यो । लामो आयु हुनेहरू कोही देहमुक्त भएर आत्माको रूपमा भेटिन्थे भने कोही ओछ्यान पक्रेर ‘ए काल छिटै उठा न’ भन्दै गरेका हुन्थे । ‘पख न पख, म तिम्रै सिरानमा बसेको छु अलिक समय बाँकी नै छ ।’ भनेर झर्केको पनि सम्झना आउँछ मलाई । त्यस्तो अवस्थामा आफ्नो काममाथि गर्व लाग्थ्यो । गाउँमा नानाथरी बुद्धि लगाउनु पर्दैनथ्यो । समयले तालमेल खाने गरी उचित वाण हान्थेँ र आफ्नो काम तमाम गरेर ठीक समयमा तपाईंको सामुन्ने उपस्थित भइसकेको हुन्थेँ । सहरका मान्छेले प्राण त्यागिसकेपछि मात्रै ‘एहे..., यसरी पो मर्ने रहेछ यो !’ भन्ने चाल पाउँछु म ! प्रायः घरैमा बसीबसी कम्प्युटरबाट काम गर्ने गर्छन् सहरतिर । तिनको आफन्त पृथ्वीको पल्लो छेउमा भए पनि कम्प्युटर अथवा मोबाइलको बटन घोच्छन् । आफन्त भनाउँदो हेलोहेलो... भन्दै त्यही स्क्रिनमा देखिन्छ । अहो..., मोटाएछौ त ! भन्दै भलाकुसारी गर्न थाल्छन् । कुनै रोग लगाइदियो भने तपाईंले पठाएका धामीझाँक्रीलाई पत्याउँदैनन् । अस्पताल जान्छन् र एकैछिनमा रिकभर भइयो भनेर खुसी मनाउन थाल्छन् । अबका मान्छेहरू काल आयो भनेर डराउँदैनन् हजुर ! ऊ हेर्नुस् त मान्छेको जुलुस, कालले जबरजस्ती ग¥यो भनेर तातिएका छन् ।” 

“सहरका मनुष्यहरू विषादी मिसिएको खाद्यले प्रेसर, सुगर, क्यान्सर, ग्यास्ट्रिक जस्ता रोगको सिकार भएका छौँ । अर्गेनिक खाद्य सुग्न पनि पाउँदैनौँ हामी, छिटै मर्छौं होला ! भनेर चिन्तित देखिन्छन् त ?” चित्रगुप्तको पिएले भन्यो ।

“मैले पनि त्यही सुनेको थिएँ हजुर, तर रोग चिन्न र त्यससँग लड्न सक्षम छन् ।” 

“आफ्नो कर्म गर्नलाई केको डर ? पहिलेका मनुष्यहरू गरिबी र रोगशोकले अकालमै मरेर आत्माको रूपमा भड्कन पुग्थे । कलियुगका मनुष्यलाई दिमाग प्रयोग गर्ने छुट र सुविधा दिएको त हाम्रै काममा पो बाधा पुर्रयाउन थाले ? भ्याएसम्म सोझो औँलाले..., हैन भने... ।” यमराजले औँलो बङ्ग्याएर भनाइको तात्पर्य पूरा गरे । अनि चित्रगुप्ततिर हेरेर दिक्कलाग्दो भाव प्रकट गर्दै भने, “हैन, मनुष्यहरू यसरी किन मात्तिँदै छन् ?

चित्रगुप्तले खाता पल्टाएर जोडघटाउ गर्दै भने, “बढ्दो जनसङ्ख्या र बढी स्वाधीनताले विनाशका घटनाको नजिक पुर्रयाउँदै छ प्रभु !” 

यमराजले मलाई जाऊ भन्ने सङ्केत गरे । आफू निधारमा हात राखेर गहन चिन्तनमा डुबे ।

“हस् प्रभु !” मैले हात जोडेँ ।

‘मनुष्यका कालहरू धेरै दिन टिक्दैनन् ।’ भनेको सुन्न थालेपछि मलाई पनि आफ्नो काम श्रापित जस्तै लाग्न थालेको थियो । ‘यतिका दिनसम्म कसरी अडेको छ यो !’ जान्नेसुन्नेहरू छक्क परेर हेर्थे मतिर । सायद आकाङ्क्षिहरूले नै घुँडा टेकाउँदा रहेछन् ! नक्कलको अमेरिका जाने खुसी र उत्सुकता मेरा आँखामा पो नाच्न थाल्यो । म सरुवाका निम्ति यमराजसँग बिन्ती बिस्याउने मौका पर्खिरहेको थिएँ । किन हो किन, यमराजले मेरो निवेदन स्वीकार्नेछन् भन्ने विश्वास पनि थियो । 

एक दिन यमराजको मुड ठीक छ भन्ने लागेपछि “प्रभु ! मेरो सरुवा अमेरिका गरिदिनुस् ।” बिन्ती चढाएँ । 

उनले मतिर हेरे, तर केही बोलेनन् । 

त्यसको हप्ता दिनमै मेरो अमेरिका सरुवा भयो । 

अमेरिका देख्नलाई राम्रै लाग्थ्यो, तर मैले त्यहाँको आन्तरिक रहस्य बुझिसकेको थिइन । चित्रगुप्तले भने, “माइकल रोबर्टको आयु सकिन लाग्यो ।” 

माइकल रोबर्ट कस्तो छ र कहाँ छ ? जान्नलाई मैले चित्रपटनामक ऐनामा हेरेँ । बहत्तरवर्षे माइकल रोबर्ट घरभित्र बसेर कम्प्युटर चलाइरहेको थियो । ‘कम्प्युटर बन्द गर बाबू, तेरो कर्म सकियो !’ बडबडाउँदै म त्यसको हत्या गर्न हिँडेँ । घरमा पुग्दा त्यसलाई बगैँचामा पानी लगाउँदै गरेको देखेँ । एकैछिनमा यो मान्छे बाहिर आइपुगेछ भन्ने लाग्यो । 

माइकल रोबर्टको काम गर्ने तरिका, हिँडाइ, हेराइ नितान्त बेग्लै थियो । उसको शरीर पनि निकै हट्टाकट्टा देखिन्थ्यो । आयु सकिएपछि हट्टाकट्टा शरीरको के काम ! म त्यसलाई मार्ने उपाय खोज्न थालेँ । नजिकै कार थियो । माइकल रोबर्टलाई सामान किन्ने निहुँमा कारमा बसालेर बजारतिर लैजान्छु र दुर्घटना गराउँछु भन्ने लाग्यो । म त्यसको जीउमा प्रवेश भएँ । न सास फेर्छ, न उसको मुटु छ, न त गिदी छ ! फलाम जस्तो पूरै कडा र चिसो ! छक्क परेँ । हाम्रो सृष्टिभित्र पर्ने जीव जस्तो थिएन त्यो । उसको शरीरमा जीवात्मा नभेटेपछि जिल्ल पर्दै बाहिर निस्केँ । अनि त्यसको खुट्टो लटपट्याएँ र लडाइदिएँ । ट्वाङ्ग परपरका प्राणी तर्सिने गरी आवाज आयो, तर त्यसको टाउको फुट्नुको साटो घरको भित्तो पो फुट्यो । 

“केको आवाज हो ?” घरभित्रबाट उस्तै मान्छे निस्कियो । 

‘हँ ! मैले उठाउनुपर्ने माइकल रोबर्ट त घरभित्रै रहेछ क्यार !’ म किंकर्तव्यविमूढ भएँ । 

“के भयो मीतज्यू ? कसरी लड्नुभयो ?” भित्रबाट निस्किनेको कुरा सुनेर मेरो जिल्लिने रोग झन् बढ्यो । 

मैले माइकल रोबर्ट भन्ठानेर लडाइदिएको मीत त बेहोसै भएछ क्यार, चालचुल केही थिएन ! 

भित्रबाट निस्किनेले मीतज्यूलाई उठायो र पिठिउँको ढक्कन खोल्यो । पिठिउँमा इलेक्ट्रोनिक्स सर्किट पो रहेछ ! त्यसमा थिचथाच गरेर ढक्कन लगाएपछि मीतज्यूको होस आयो ! अनि मैले लटपट्याइदिएको खुट्टामा खुबसँग हेर्रयो र वरपर पनि हेर्रयो । आफू लडेको कारण बताउन नसक्ने भएर होला ! मीतज्यू पनि म जस्तै रनभुल्लमा पर्रयो । 

‘के यो मीतज्यू त्यही पिठिउँमा भएको सर्किटबाट सञ्चालित छ ? कहीँ यो मीतज्यू माइकल रोबर्टकै आविष्कार त हैन ? आफैँ जस्तो बनाएर मीतज्यू नाम राखेको हो कि !’ मेरो दुबिधा बढ्दै थियो । 

“ठीक छ, तिमी आफ्नो काम थाल ।” माइकल रोबर्टले भन्यो । 

मीतज्यू पहिलेझैँ बगैँचामा पानी पटाउन थाल्यो । 

म छिटोछिटो माइकल रोबर्टको शरीरमा प्रवेश गरेँ । मैले यमलोक लैजानुपर्ने जीवात्मा त्यही थियो । त्यसको मनमा भ्रम जगाएर कारमा बसालेँ । कार बेपत्ता घुइँक्याउन लगाएँ । उसको कार बत्तासिएकै बेला अर्को तर्फबाट रातो कार आयो । माइकल रोबर्ट बे्रक लगाउन खोज्दै थियो, मैले त्यसको खुट्टो लटपट्याइदिएँ । कार दुर्घटनामा पर्रयो । त्यसको शरीर क्षतविक्षत भयो । एकैछिनमा पुलिसको गाडी आयो । त्यसपछि एम्बुलेन्स आयो र माइकल रोबर्टलाई अस्पताल पुर्रयायो । 

‘आ-आफ्नो कर्तव्य सबैले गर्नुपर्छ, गर बाबै सक्दो प्रयास गर !’ म आफ्नो काममा विश्वस्त थिएँ । 

अमेरिकाको अस्पतालमा विशेष सुविधा रहेछ । माइकल रोबर्टलाई एउटा सिसाको डब्बाभित्र राखेर अक्सिजनका सिलेन्डर बोकेका पाँचसात जना डाक्टरहरू त्यही डब्बाभित्र पसे । माइकल रोबर्टको क्षतविक्षत भएको शरीर जोडजाड गर्न थाले । खुट्टाको मासु काटेर टाउकोमा टाले, हातको मासु काटेर पेटमा टाले । त्यसपछि प्लास्टिकको मुटु जोड्दै गरेको देख्दा मलाई ती डाक्टरहरूदेखि दिक्क लाग्यो । मलाई माइकल रोबर्टको आत्मा लगेर यमलोक जान ढिलो भइसकेको थियो । वित्थामा मेरो काममा बाधा पुर्रयाइरहेको देखेर रिस उठ्न थाल्यो । अरू कुनै उपाय लगाएर उसको आत्मा निकालेर हिँडौँ भने सीसाभित्र छिर्नै सक्दिन म । मेरो मन उकुसमुकुस हुन थालेपछि घुम्न निस्केँ । फर्किंदा माइकल रोबर्टको मुटु जोडेर टाँका मार्दै थिए । 

अर्को मान्छे पिटर जोनको मिति पुगेछ, म त्यसलाई लिएर यमलोक गएँ । त्यहाँबाट फर्किंदा ‘माइकल रोबर्टको आत्माले शरीर छोडिसकेको होला । आफ्नै शरीर र आफन्तलाई हेरेर रोइरहेको भेटिन्छ कि !’ सोच्दै अस्पताल पुगेँ । माइकल रोबर्टको मुटुको सिग्नल ठूलै स्क्रिनमा हेरेर खुसी मनाउँदै गरेका देखिए । मैले माइकल रोबर्टतिर हेरेँ, ऊ बेहोसै थियो । ‘के यो पनि रिकभर हुँदै छ त !’ म ट्वाँ परिरहेको थिएँ, मैले हेर्दाहेर्दै माइकल रोबर्टको सास र नाडी चल्न थाल्यो । अप्रेसन गर्दा ढाकेको सिसाको बक्स हटाए । माइकल रोबर्टको मुखमा लगाएको पाइप पनि निकाले र उपचारमा खटिएका डाक्टरहरू नाक फुलाउँदै वरपर गर्न थाले । 

माइकल रोबर्टका आफन्तहरू अङ्कमाल गर्न थाले । मैले हेर्दाहेर्दै माइकल रोबर्टले पनि आँखा हे¥यो । हेर्दाहेर्दै त्यसलाई सिरानीमा अडेसा लगाए । हेर्दाहेर्दै उसकी स्वास्नी चम्चाले सुप खुवाउन थाली । 

प्लास्टिकको थैलोभरि फल बोकेर अर्को एक जना टुप्लुकियो । “मि. रोबर्ट ! यु आर जिनियस !” बूढी औँठो ठड्याउँदै फलको झोला मिसेज रोबर्टको हातमा थमायो । 

माइकल रोबर्टले आँखा चिम्ल्यो र गर्विलो पाराले टाउको हल्लायो । 

यदि माइकल रोबर्टले मलाई त्यही कुनामा उभिएको देख्न सक्थ्यो भने आँखा सन्क्याउन बेर लाउने थिएन ! म सोच्दै थिएँ, ‘के अब उसका आफन्तहरूसँग यो मेरो सिकार हो भन्दै लाप्पा खेल्नु !’ किंकर्तव्यविमूढ म ट्वाल्ल परेर हेरेको हेर्रयै भएँ !

“अमेरिकामा कार्यरत मनुष्यको काल तुरुन्तै हाजिर हो ।” चित्रगुप्तको स्वरले झसङ्ग भएँ र तत्काल यमलोकतिर कुदेँ । 

“माइकल रोबर्टलाई लिन गएका हौ कि, ट्वाँ परेर उसैलाई हेर्न ?” उनले आँखा तरे ।

“हरे..., यमराज ! कस्ता दिन आए प्रभु ! के अब मान्छेले बनाएको खेलौना जस्तो प्लास्टिकको मुटु घोचेर बस्नु ? कि टालो हालेको टाउकोमा घोच्नु ?” कालले केही सम्झेजस्तो गरेर भन्यो, “पहाडका मान्छेहरू मलाई देखेर बेहोसै भइहाल्थे । अहो..., म त्यत्रो भयानक छु र ? आफैँ बेहोस हुन्छु कि भन्ने लागेर मलाई ऐनाअगाडि पर्न डर लाग्थ्यो ! मान्छेलाई उठाउँदाउठाँदा तिनको आकाङ्क्क्षाले मलाई नै जकडेछ । त्यसले मलाई यस्तो ठाउँमा पुर्रयाइदियो कि आफ्नो परिस्थिति र काम नै हास्यास्पद लाग्न थालिसक्यो । बस, मेरो टोलाउने रोग यही हो हजुर !” कालको विचारले सबैलाई गम्भीर बनायो ।

“राति गएर माइकल रोबर्टलाई चुपचापसँग लिएर आइज !” केही बेरपछि चित्रगुप्तले त्यहाँको सन्नाटा तोडे । 

मैले स्वीकारोक्तिमा टाउको झुकाएँ र त्यहाँबाट निस्केँ ।

राति बाह्र बजे माइकल रोबर्ट मस्त निदाएको थियो । मैले त्यसको हंस लगेर यमलोग पुगेँ । 

चित्रगुप्तले भने, “मि. रोबर्ट ! अहिलेसम्म तिम्रो अर्को जन्म भइसक्नुपर्ने । तिमी लगभग दुई सय घडीपछाडि परिसक्यौ । सबैको जस्तै तिम्रो पुनर्जन्मको सिलसिला पनि वनस्पतिबाट सुरु भएको हो । दुर्घन्धित वनस्पतिबाट तिम्रो जन्म लिने काम सुरु भएको हो । त्यस जुनीबाट पार पाउँदा सुगन्धित पूmलमा पुगेका थियौ । त्यसपछि तिमी डरलाग्दा कीरा-फट्याङ्ग्राबाट जन्म लिन सुरु भएर मनुष्यले रुचाउने माउरी जस्ता कीरामा पुगेर त्यस जुनीबाट मुक्त भयौ । त्यस्तै प्रकारले तिमी पन्छीको योनिमा पनि भ्रमण गर्रयौ र जनावरको योनिमा प्रवेश पायौ । हजारौँ जनावरको जुनी बिताएर तिमी मानव चोलामा आएर अधर्मी-धर्मी, चोर-साधु, गरिब-धनी, अशिक्षित-शिक्षित हुँदै यो जन्ममा तिमी रोबर्टले रोबोटको आविष्कार गर्रयौ । अब तिमीले अरू ग्रहका प्राणी एलियन्सको बारेमा रिसर्च गर्नु छ । त्यसका लागि रकेट बनाएर एलियन्स खोज्दै हिँड्नुपर्ने पनि हुन सक्छ ।” 

“हो, मेरो अन्तिम इच्छा नै त्यही हो हजुर ।” माइकल रोबर्ट दङ्ग देखियो ।

“मि. रोबर्ट ! यो सृष्टिको सञ्चालक हामी नै हौँ । तिम्रो त्यो इच्छा जगाउने काम पनि हाम्रै हो, तर त्यो काम पूरा गर्नलाई तिमीले अर्को जन्म लिनुपर्छ । त्यसपछि तिमी आकाङ्क्षा मुक्त भएर परब्रह्ममा लिन हुनेछौ । छिटो गर न, अब तिमी पुनर्जन्मको अन्तिम सिँढीमा पुग्दै छौ ।” 

माइकल रोबर्टले क्षणिक सोचेर भन्यो, “हस् हजुर, म यहाँको सल्लाह सुझाबमा सहमत छु ।”

चित्रगुप्तको सङ्केत पाउनेबित्तिकै मैले माइकल रोबर्टलाई लगेर अस्पतालको बेडमा राखिदिएँ । 

माइकल रोबर्ट झल्याँस्स ब्युँझियो । उसको मुटु ढुकढुक बजिरहेको थियो । उसले यमलोकमा भएको क्रियाकलाप एकएक गरेर सम्झयो । त्यसलाई निकै बेर केलाएपछि आफूले दिएको मन्जुरी उल्लङ्घन गर्न चाहेन । उसको दृष्टि आफूलाई कुर्न बसेका कुरुवातिर गयो । आफन्तहरू वल्तिरपल्तिरको खाटमा बसेर झकाइरहेका देखिन्थे । त्यहाँ उसकी स्वास्नी र छोराछोरी पनि थिए । अन्तिम पटक तिनलाई अँगालेर खुब माया गर्न चाहन्थ्यो ऊ, तर भावुकता जागेर आफ्नो योजना बिग्रन्छ कि भन्ने मनमा लियो र कापीकलम समात्यो । उसले आफन्तहरूदेखि अस्पतालका डाक्टर र नर्सहरू सबैप्रति आभार प्रकट गर्दै अगाडि लेख्यो– म यस अस्वस्थ शरीरसँग अल्झेर समय खेर फाल्न चाहन्न, मैले तुरुन्तै आफ्नो इच्छापूर्तिमा होमिनुपर्ने देखिएकाले अगाडि बढेको हुँ । मेरो यस आत्महत्याको निर्णयलाई अन्यथा नठान्नुहोला । अलबिदा !’ 

माइकल रोबर्ट बेडबाट उत्रियो र त्यस चिठीलाई सिरानीमा राखेपछि हिँड्दाहिँड्दै उसको दृष्टि फेरि आफन्तहरूतर्फ गयो । सायद उसको दृष्टिले आफन्तलाई छोड्न मानिरहेको थिएन, भित्तामा ठोक्किएपछि उसले बाटोतिर हेर्रयो र बिस्तारै आफ्नो लक्ष्यतिर बढ्यो । बिरामी तन र दुखी मनसँगको माइकल रोबर्ट लिफ्टमा चढेर १९२ औँ तले घरको छतमा पुग्यो । छतको छेउमा गयो र आफ्नो लक्ष्य चियायो । उसको दृष्टि भुइँमा पुग्दा मुटु हिउँको डल्लै भयो । त्यहाँबाट तुरुन्तै आँखा हटायो र लामोलामो सुस्केरा हाल्यो । त्यसपछि आकाशतर्फ हेर्रयो, आँखा चिम्ल्यो र हात फैलाएर हामफाल्यो ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    33     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    32     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    77     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    188     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top