+९७७-९८५५०१८११८
logo
कला साहित्य

पुनर्जन्मका सुखद क्षणहरू !



कला साहित्य    162 पटक पढिएको   -महेन्द्र ओझा    २०७५ आषाढ ०७ बिहीवार   
हेटौंडा, ०७ आषाढ । २०३४ सालमा आठ वर्षको म तीन कक्षामा पढ्थेँ । रेडियो नेपालको बाल कार्यक्रममा प्रथम पटक आफ्नो बाल कविता प्रशारण भएको सुन्न पाउँदा हर्षले उफ्रेको थिएँ म । पल्ला घरको फिलिप्स (इन्डियन) रेडियोले कार्यक्रम सञ्चालकको स्वरमा आफ्नो कविता सुनाउँदा असीम खुसीले झण्डै पागल भएको थिएँ म ।

पुनर्जन्मका सुखद क्षणहरू !


सुन्नेहरूले बधाइ दिँदा अझ थप उर्जा प्राप्त भएथ्यो । मुलुकको एक मात्र प्रशारण संस्था, रेडियो नेपालबाट त्यो बालापनमा आफ्नो नाम आउँनु चानचुने कुरै थिएन । खुसीको बहारले भोक र निद्रा दूर भएका थिए मबाट । साहित्यिक यात्रामा प्रथम उत्प्रेरणा थियो त्यो क्षण मलाई ।

“आजभोलि बालकमा पढ्नु ,लेख्नु गर्नु छ 

भविष्यमा गएर देशको विकास गर्नु  छ,”

स्कुलको कविता प्रतियोगितामा ‘मातृभूमिको वेदना’ शीर्षकको कविता प्रथम हुँदा ५ कक्षाको त्यो बेला पनि म बेहद खुसी थिएँ । ८ कक्षाको नेपाली किताबमा ‘भूतको सिकार’ पाठ पढेपछि भूतप्रतिको जिज्ञासा बढ्यो र गोरखापत्रमा सम्पादकलाई चिठी पठाएँ । ‘भूत हुन्छ कि हुँदैन ?’ सम्पादकलाई चिठी गोरखापत्रमा छापिएको देख्दा पनि रमाएर म नाचेको थिएँ । त्यसपछि, गोरखापत्रकै शनिवासरीय परिशिष्टाङ्कमा ‘गाउँखाने कथा’ छापिएको देख्दा पनि गोरखापत्रलाई सुम्सुम्याउँदै चुम्बन गरिरहेँ । रेडियो नेपालको गीत फर्माइस र चौतारी कार्यक्रममा आफ्नो नाम सुन्न पाउँदा पनि पहिलो पटकचाहिँ निकै मख्ख भइन्थ्यो । सानातिना कुराले पनि हाँसो र खुसीका फूल फुलाउने त्यो सुखद बाल्यपन !

कक्षा ९ मा पढ्दा २०४१ सालमा इनरूवाबाट प्रकाशित हुने ‘समाचार जगत’ (साप्ताहिक) मा मेरो पहिलो कविता छापियो । शार्दूलविक्रीडित छन्दको ‘नव वर्ष’ शीर्षकको त्यो कविता छापिएको देख्दा म पनि कविता लेख्न जान्दो रहेछु भनेर फुरुङ्गै परेँ । पहिलो सम्पादकीय स्वीकृतिमा नरमाउँने कुरै भएन । एसएलसीको नतिजा आएर प्रथम श्रेणीमा उत्तीर्ण भएकै अवसरमा २०४३ असारमा गोरखापत्रको शनिवासरीय परिशिष्टाङ्कमा प्रकाशित शार्दूलविक्रीडित छन्दको ‘भानुप्रति’ कविताले त घनघस्याको उकालो काटेर पहाडको टुप्पामै पुगेको अनुभूति मलाई भएको थियो । रेडियो नेपालको बाल कार्यक्रममा बालकविता, अनुरोध गीतमा नाम र चौतारी कार्यक्रममा मुक्तक अघाउँजी प्रशारित भए भने गोरखापत्रमा सम्पादकलाई चिठी र गाउँखाने कथा पनि यथेष्ठ प्रकाशित भए । हाइस्कुलको विद्यार्थी कालमा गरिमा र मधुपर्कको पाठक मात्र भएँ म, लेखक हुन सकिनँ । खोटाङ जिल्लाको जिल्लास्तरीय कविता, निबन्ध र हाजिरी जवाफ प्रतियोगितामा भने कैयौँ पटक प्रथम पुरस्कार हात लागेथे ।

२०४३ सालमा आइएस्सी पढ्न धरान झरेपछि भने हात्तीसार क्याम्पसका कक्षा छाडेरै साहित्यिक गोष्ठी र सभाहरूमा खुबै धाइयो । साहित्यमा रुचि भएको मान्छेलाई विज्ञानका कक्षाहरू के रुचिकर हुन्थे र ? कुन्ता शर्मा, बम देवान, बेणु आचार्य, मानबहादुर शाक्य र राजकुमार कार्कीका ताता कविताहरूले मलाई पनि निकै तताए, जागृत गराए । नवीन सुब्बा, रमेश के.सी. स्व.विमल गुरुङ र सविता श्रेष्ठ ‘बेहोसी’ लाई पनि यतिबेला म सम्झिरहेछु । आरसी, संसार र सप्तकोसी जस्ता स्थानीय साप्ताहिक पत्रिकाले आफ्ना कविता प्रकाशित गर्दा म औधी रोमाञ्चित हुन्थेँ । मधुपर्क र गरिमाको नियमित पाठक भएर सम्यक् अध्ययन गर्दै पाठक प्रतिक्रिया पठाइरहँन्थेँ, छापिइरहन्थे । त्यही पाठक प्रतिक्रिया आउँदा पनि अधिक खुसी भइन्थ्यो त्यो बेला । तिनै पाठक प्रतिक्रियाहरूले मभित्र समीक्षात्मक चेत पलाएको हो ।

दुई वर्षसम्म कविता पठाउँदा, पठाउँदा गरेपछि २०४४ साल चैतको मधुपर्कमा बल्ल मेरो पहिलो कविता आएको थियो । शार्दूलविक्रीडित छन्दको मेरो ‘माटोको माया’ कविता मधुपर्कको आँकुरा स्तम्भमा छापियो । फोटो र परिचयसहितको त्यो कविता छापिँदाको खुसीलाई म यहाँ कुनै शव्दमा व्यक्त गर्न असमर्थ छु । अबचाहिँ आफू साँच्चैको कवि भएको अनुभूत गरेँ । मधुपर्कको अन्तिम पानातिर प्रकाशित त्यो कवितालाई पटकपटक हेर्दै र पुलकित हुँदै सम्पादक कृष्णभक्त श्रेष्ठलाई मनमनै निकै मुरी धन्यवाद दिएँ । त्यो मधुपर्क पाएको दिन बेलुकी सीमाहीन खुसीले मलाई खाना नै रूचेन । त्यो खुसी झण्डै एक महिनासम्म मभित्र सञ्चार भइरह्यो । त्यसपछि, २०४५ पुसको मधुपर्कमा उपेन्द्रबज्रा छन्दको ‘म’ कविता आउँदा पहिला भन्दा अलिक कम खुसी भएको कुरा अहिले पनि मलाई प्रष्टै थाहा छ ।

हात्तीसार क्याम्पस धरानमा २०४५ सालमा भएको सिसास-जेसिज कवि गोष्ठीले पनि मलाई निकै उत्साही बनायो । आफूले कविता वाचन गर्ने अवसर नपाए पनि केदारमान व्यथित, उपेन्द्र श्रेष्ठ, केशवराज पिँडाली, बेञ्जु शर्मा, मञ्जु काँचुली, सरुभक्त, गुमानसिंह चामलिङ, कुन्ता शर्मा, वम देवान आदिका कविता श्रवणले मलाई मनग्यै ऊर्जा प्रदान भयो । स्थापित कवि भएर भविष्यमा म पनि यसरी नै ठूला गोष्ठीहरूमा कविता सुनाउँछु भन्ने प्रण गरेँ । डराउँदै भएपनि गुमानसिंह चामलिङ र सरुभक्तसित साहित्यिक अन्तर्वार्ता लिएर पत्रिकामा छपाएँ । कविवर व्यथित र व्यङ्ग्यकार पिँडालीसित अन्तर्वार्ता लिने मेरो आँट पुगेन, प्रयास मात्र गरेँ । पठाउँनासाथ पहिलो कविता स्वाट्टै छापिएको मेरो कविता भनेको एकेडेमीको ‘कविता’ मा हो । २०४५ पुसको अङ्कमा शार्दूलविक्रीडित छन्दको ‘शुभकामना’ कविता राजा वीरेन्द्रप्रति समर्पित थियो । चर्चित कवि भूपि शेरचन प्रधान सम्पादक रहेको ‘कविता’ मा आफ्नो पहिलो कविता आउँदा मलाई निकै गौरव लागेको थियो । पछि गएर त्यो कविताको विषय–वस्तुप्रति स्वयम्मा वितृष्णा जागेर आफ्नो कविता–सङ्ग्रहमा त्यो कवितालाई समावेश पनि गरिनँ ।

२०४२ सालदेखि कविता पठाउँन थालेको ‘गरिमा’ ले २०४६ साल बैशाखमा बल्ल मेरो कविता छाप्यो । मन्दाक्रान्ता छन्दको ‘नव वर्ष’ कविता ‘गरिमा’ को अग्र पृष्ठमै छापिएर आएको देख्दा भने तेञ्जिङ शेर्पाले सगरमाथा आरोहण गरेको आकारमै हर्षविभोर भएको थिएँ म । बहुप्रतिक्षित गरिमा प्रवेशको मेरो सपना पूर्ण भएको त्यो क्षण राष्ट्रकै स्थापित कवि भएको अनुभूतिमा थिएँ म । तर आज बुझ्दा त्यो त मेरो प्रारम्भिक पाइला पो रहेछ । तर त्यतिबेला म आकाशमा उड्दो चरा नै भएको थिएँ । मेरो कवितामा चित्र पनि उडिरहेका चराहरू नै थिए । अगाडिको पहिलो पानामा मेरो कविता र त्यसको पछाडि मेरा प्रिय निबन्धकार डा. तारानाथ शर्माको निबन्ध (रिट्ठू गाई ) । अहा ! क्या रमाइलो र आनन्ददायक त्यो सर्जकीय परिवेश । ‘ढिलो भए पनि आखिर छोरै भयो’ –प्रा.डा. माधवप्रसाद पोखरेल (भारतको पूनामा विद्यावारिधीरत) ले पत्र लेखेर मलाई बधाई दिनुभएको थियो ।

यसरी, छन्दका कविताले धेरै पत्रपत्रिकाहरूमा मलाई प्रवेश गराए र उत्साहित भएर म यो क्षेत्रमा अडिएँ । अतः छन्दका कविता र गोरखापत्र संस्थान मेरा लागि विशेष प्रेरणाप्रदायक भए । मधुपर्क र गरिमाले मेरा रचना (कविता,गजल,लघुकथा र निबन्ध) बेलाबखत छापिरहे । मिर्मिरे, समष्टि, युवामञ्च, जनमत, मुना, बालक, सुनकेस्रा, नव कविता, बगर, सगर, रचना, अभिव्यक्ति, दायित्व, वेदना आदि पत्रपत्रिकाहरूले मलाई माया गरेर मलाई न्यायोचित स्थान दिएकै हुन् । शारदा, मातृभूमि, प्रतिनिधी नेपाली लघुकथा र प्रतिनिधी नेपाली बालकवितामा पनि मलाई हाजिर गराइएकै हो । खोटाङको विकट गाउँका हुलाकबाट प्रेषित् मेरा काँचा–कचिला रचनाहरू अरु स्वनामधन्य पत्रपत्रिकाहरूले पनि प्रकाशित गरिरहे । २०५५ सालमा पहिलो कृति ‘पात्रहरू’(लघुकथा–सङ्ग्रह) निकाल्दा पनि मेरो खुसीको पारो बढेको थियो । २०५६ मा ‘छरिएका कविता’ र २०६४ मा ‘बालपोष’(बालकविता–सङ्ग्रह) मैले आफ्ना दोस्रो र तेस्रो सन्तान जन्माउँदाको खुसियाली पनि भव्य नै थिए । बालसाहित्यमा हौँसिएको म, आफ्नो चौथो कृति एवम् दोस्रो बालकवितासङ्ग्रह ‘राम्रो बानी’ २०७३ मा आउँदा एक सन्तान थपिएको सुखद अनुभूतिले म फेरि एकपटक प्रफुल्ल हुँदो भएँ । एलवि चाम्लिङ भाइले भनेर कथालयलाई ४ बालकथा सक्दिनँ । आकर्षक चित्र र सजावटमा कथालयबाट आएका मेरा २ बालचित्र कथा—सुनापातालको सुनाझाँक्री र ट्याम्केको घुमघाम लाई बालबालिकाले निकै रुचाए । आकाशको बञ्चरो-ट्रिनिटी प्रकाशनबाट र गाउँभरि भूतको हल्ला-स्वदेश प्रकाशनबाट २०७४ मा बालकथासङ्ग्रह प्रकाशित हुँदा पनि कृतिको सङ्ख्या ८ पुग्दाको सुखानुभूति पनि उल्लेख्य लाग्छ मलाई । बूक आर्टबाट मेरा २ बालकविता स्वीकृत भएर प्रकाशोन्मूख छन् भने बालकथासङ्ग्रह-जे माग्यो त्यही दिने पोखरी ले प्रकाशक खोजिरहेको अवस्था छ । यही २०७५ सालभरिमा लघुकथासङ्ग्रहको पाण्डुलिपि तयार गर्ने योजना मात्र होइन खोटाङका लोककथा सङ्कलनको अधुरो कार्यलाई पूर्ण गर्नु पनि छ मैले । २०५६ पछिका कविता र गजल छाप्न त बाँकि नै छन् । मनकारी र धनकारी प्रकाशक खोजिरहेका छन् मेरा सिर्जनाले । अरू सन्तान जन्माउँने तीब्र मोह (मुमुक्षा) पालेर अहिले म भोकले छटपटाइरहेको अवस्था छ । आर्थिक अभाव र मेरो अल्छेपन तगारा भएर मेरा अगाडि खडा छन् । 

एकेडेमीको ‘समकालीन साहित्य’ मा रचना छपाउँने मेरो अधुरो सपना पूरा भएन । केही लघुकथा र निबन्ध पठाउँदा ‘समकालीन साहित्य’ले मलाई पत्याएन । आफू आख्यानमा कम कलम चलाउँने मान्छे । अविनाश र भाउपन्थीले मलाई त्यो ढोका खोलिदिनु भएन । एक किसिमको पीडाबोध भयो मलाई । यसले मेरो छाप्दैन भन्दै धेरै वर्ष कुनै रचना पठाइनँ मैले । सम्पादक मण्डलकै एकजना शुभेच्छुक मित्रले फोनमा मलाई भन्नु भो –‘समकालीन साहित्यलाई राम्रा लघुकथा पठाउँनुस् !’ आशङ्काको दोधारे मनस्थितिमा केही लघुकथा पठाएँ । नभन्दै, ‘समकालीन साहित्य’ को पूर्णाङ्क–७२ (मङ्सिर–माघ २०७१)मा मेरो लघुकथा छापिएछ । दीर्घ प्रतीक्षाको प्राप्ति अनमोल र सुखद हुँदो रहेछ । यो उमेरमा आएर त्यो पत्रिकामा स्थान(सानै भए पनि) पाउँदा आफ्नो धोको पूरा भएको अनुभूति भयो । रचना पठाएर प्रकाशनको प्रतीक्षा गर्नु र आफ्नो रचना प्रकाशित भएको पत्रिका प्राप्त गर्नु–एउटा सर्जकका लागि बडा रमाइलो र संप्राप्तिको क्षण हुँदो रहेछ । अरू सर्जकहरूलाई पनि यस्तै होला सायद ! गरिमामा प्रकाशित आफ्नो निबन्ध हेर्दै र सुम्सुम्याउँदै अनि सम्पादकप्रति कृतज्ञ बन्दै हर्षित् भएको डा. तारानाथ शर्माको उज्यालो मुहारको त्यो क्षणलाई मैले आफ्नै आँखाले साक्षात्कार गरेको छु । राष्ट्रकवि माधव घिमिरेले मधुपर्कका सहसम्पादक तुलसीहरि कोइरालालाई एउटा रचना थमाउँदै केही वर्षपहिले भन्नु भएको कुरा पनि उल्लेख्य लाग्छ –“यो छिटै आओस् है ! मधुपर्कमा मेरो रचना नआएको धेरै भयो !!” त्यत्रा स्वनामधन्य काव्यका धरोहरलाई पनि प्रकाशनको त्यति मोह ! प्रकाशनको तीब्र भोक र प्यास लेखकहरूको महारोग नै हुँदोरहेछ भन्ने अनुभूत हुन गयो । नेपाल टेलिभिजन र रेडियो नेपालको साहित्यिक कार्यक्रममा राजधानी गएको बेला सहर्ष कविता रेकर्ड गराइन्थ्यो । खोटाङ पुगेर आफ्नै स्वरमा रेडियोबाट आफ्नो कविता सुन्नुको मज्जा पनि अर्कै हुन्थ्यो । त्यति बेला  टेलिभिजन हेर्ने र सुन्ने त गाउँमा पहुँचै थिएन । अलिकपछि, सप्तकोसी, रूपाकोट, गोरखा, मेट्रो, बि.एफ.एम.जस्ता बग्रेल्ती एफ.एम.हरूमा साहित्यिक अन्तर्वार्ता दिन पनि धाएरै रेडियो स्टेशन पुगिन्थ्यो । त्यो बेलाको जाँगर र उत्साह नै बेग्लै थियो । 

२०४५–०४६ सालतिरको साहित्यिक पत्राचारलाई पनि म यतिबेला स्मरण गरिरहेको छु । कसैलाई आफ्ना फुटकर रचना प्रकाशनको पीडा र समस्या उल्लेख गर्दै त कसैलाई मधुपर्क र गरिमामा प्रकाशित वहाँहरूका रचना मन पराएर साहित्यकारहरूलाई हुलाकबाट पत्र पठाउँथेँ । अधिकांशका प्रत्युत्तर–पत्र पाएर फुरूङ्ग भएको त्यो क्षण पनि कम्ता लोभलाग्दो छैन । युगकवि सिद्घिचरण श्रेष्ठले छोरी मिश्रीलाई संक्षिप्त पत्र लेख्न लाएर हस्ताक्षर गरेर पठाउँनु भएको थियो । अति सुन्दर अक्षरमा लामो पत्र लेखेर प्रिय निबन्धकार डा. तारानाथ शर्माले साहित्यिक मार्गबाट विचलित नभै हाम्रा हिमाल र नदीबाट प्रोत्साहन लिनुपर्ने कुरा मलाई सुझाउँनु भएको थियो । कविकुटिर, ज्याँठाटोल, काठमाडौँ ठेगाना भएको व्यक्तिगत लेटरप्याडमा कविवर केदारमान व्यथितका काइते हस्ताक्षर उक्काउँन हम्मेहम्मे हुन्थ्यो मलाई–कमल दीक्षितका अक्षर उक्काउँन जस्तै । मसिना अक्षरमा सिर्जित स्व. मनु ब्राजाकीका भावनाहरू गम्भीर एवम् सम्प्रेष्य हुन्थे । डा. माधवप्रसाद पोखरेलका सल्लाह र सुझाव मलाई अभिभावकीय मार्गदर्शन लाग्थे । डा. वानीरा गिरि, डा.केशवप्रसाद उपाध्याय, दिनेश अधिकारी, वनमाली निराकार र ज्ञानुवाकर पौडेललाई पनि मैले पत्र पठाएँ । यसैगरी, डा.वमबहादुर थापा जिताली, डा.घनश्याम न्यौपाने परिश्रमी, विवश पोखरेल, रत्न प्रजापति, ज्ञानेन्द्र श्रेष्ठ विवश, अरुण नदी, सितका साहित्यिक पत्राचारले पनि मलाई मनोरञ्जनका अतिरिक्त विशेषः ऊर्जा दिएकै हुन् ।

डा. वानीरा गिरिलाई लेखेको एउटा सानो समीक्षात्मक पत्र उल्लेख्य र ऐतिहासिक भएको सुखद सन्दर्भ लाग्छ अहिले । आजसम्म पनि मैले वहाँका पुस्तकाकार कृति पढेको छुइनँ । मधुपर्क र गरिमामा प्रकाशित फुटकर कविता मन परेर मैले डा. गिरिलाई चिठी लेखेको थिएँ । २६ वर्षसम्म मेरो त्यो पत्र सुरक्षित राखेर मधुपर्क सम्मानको मन्तव्यमा वानीरा दिज्यूले मञ्चस्थ गर्नु भएको कुरा मैले खोटाङमा सुन्न पाएको थिएँ । हालै प्रकाशित प्रकाश सायमीकृत ‘काठमाण्डू सेल्फी’ को “ नेपथ्यमा हराएकाहरू ”(पृ.१९) मा उक्त कुरा उल्लेख भएको देख्न पाउँदा मलाई गर्वानुभूति त भयो नै । एउटा सशक्त लेखकलाई थप ऊर्जा प्रदान गर्न सकेकोमा साहित्यिक पत्राचार सार्थक भएको समेत अनुभूति भयो । 

ऐरावती, ओएसिस, शिक्षा परीक्षा सामग्री केन्द्र, जेविडी र आठराई प्रकाशनका बोर्डिङका नेपाली पाठ्यपुस्तक (केजीदेखि ७ कक्षासम्म )मा आफ्ना बालकविता रहनुले पनि बालकवितामा मलाई थप ऊर्जा प्रदान गरेका छन् । रातो बङ्गला स्कुलको-छन्दको छहरा मा आफ्नो छन्दोवद्व कविता रहेको कुरा पनि निकै वर्षपछि काठमाडौँ पुग्दा मात्र जानकारी भयो मलाई । विकट पहाडी जिल्लाको दुर्गम 

गाउँमा बस्दो म जस्तो भुइँमान्छेलाई राजधानीका कुरा थाहा पाउँन पनि निकै गाह्रो ! कतिपय लेखरचना प्रकाशित भएको पनि अथाहा हुन्छ म विकटे बबुरोलाई ।  वाणी प्रकाशन, प्रहरी प्रधान कार्यालय र रावासावा प्राज्ञिक समाज आदिका पुरस्कार र सम्मानले पनि मेरो साहित्यिक यात्राको कदर गरेकोमा आनन्दानुभूति भइरहन्छ । स्नातकोत्तर तहमा नेपाली विषयका दुईजना विद्यार्थीले मेरो जीवनी, व्यक्तित्व र कृतित्वमा शोध(थेसिस) गर्नुलाई पनि आफ्नो मूल्याङ्कनको एउटा पाटोका रूपमा लिनु पर्छ । मेरो बालसाहित्यमा हाल दुईजना स्नातकोत्तर विद्यार्थी शोधरत रहनु पनि बालसाहित्यमा आफ्नो सार्थक उपस्थितिको द्यौतक मान्नु पर्छ । बालसाहित्यमा अलिक बढी नै एकोहोरिएछु जस्तो लाग्दैछ पछिल्लो समय । बेलैमा राजधानी छिर्ने मेरा समकालीन साथीहरू निकै अगाडि पुगेका प्रष्टै देख्न सकिन्छ । युवराज नयाघरे, श्रवण मुकारुङ,  रमेश श्रेष्ठ,  रत्न प्रजापति, कृष्ण शाह ‘यात्री’, रोशन थापा ‘नीरव’ जस्ता समकालीन मित्रहरू साहित्यिक यात्रामा निकै पर पुगेको सन्दर्भ मलाई सुखद लाग्छ । आफ्नो पुस्ताको उन्नयनले आफूलाई प्रेरणा र गौरव प्रदान गर्दो रहेछ । आफ्ना दौंतरका रचना विश्व विद्यालयका पाठ्यपुस्तकमा रहँदा-गर्दा त हुँदो रहेछ जस्तो भएको छ । विकट पहाडी जिल्लाको दुर्गम गाउँमा बस्दो यो बबुरो कलमले यो भन्दा बढी मसी खोज्नु पनि अस्वाभाविक जस्तै लाग्छ । पहिले धेरै लेखिन्थ्यो तर छाप्न गाह्रो हुन्थ्यो । अहिले फुटकर रचना छाप्न केही सहज भएको अवस्थामा लेखन साह्रै न्यून छ । आक्कल–झुक्कल फुटकर रचना पत्रिकाहरूमा छापिन्छन् ।२–३ वर्षमा राजधानी गएको बेला बाटो खर्च (पारिश्रमिक) पनि थोरबहुत पाइन्छ । सानोतिनो भएपनि लेखकीय पहिचान बनेकोमा यतातिर समय लगानी गरेर ठिकै पो गरिएछ कि ! जस्तो पनि लाग्छ ,आज ।

फाक्टाङ स्रोतकेन्द्र , बराहपोखरी-४,खोटाङ ।

मो.नं. ९७५३००४३६०

इमेल : rambikramthapa@gmail.com







सम्बन्धित शिर्षक समाचारहरु
  • हाम्रा विश्वविद्यालयहरु

    हेटौडा । घेरै विश्वविद्यालयहरु खुल्नु आफैमा राम्रो कुरा हो । देशका हरेक नागरिका छोरा छोरीले पढन पाउनु ,र देशमा शिक्षित दर बढनु ,यसमा कसैको पनि दुईमत हुनु हुदैन । विश्वका हरेक बिकसित देशको ईतिहाँस हेर्ने हो भने ति देश बिकसित हुनु पछाडी मुख्य भुमिका शिक्षा क्षेत्र कै रहेको पाईन्छ ।
    विचार/दृष्टिकोण
    1     २०७५ श्रावन ०६ आइतवार
  • हेटौंडाका दुई वडाअध्यक्षः जसले राज्यबाट पाएको सुविधा खर्चिए सामाजिक कार्यमा

    हेटौंडा,५ साउनः हेटौडा उपमहानगरपालिकाका दुईजना वडा अध्यक्षले राज्यबाट पाउने सेवा सुबिधालाई सामाजिक कार्यमा खर्चन सुरु गरेका छन् ।
    स्थानीय समाचार
    260     २०७५ श्रावन ०५ शनिवार
  • हेटौंडा घोषणापत्र जारी गर्दै सकियो जनजाति पत्रकारको भेला

    हेटौंडा,५ साउनः फोनिज ३ नम्बर प्रदेशको हिजो शुक्रबारबाट हेटौंडामा सुरु भएको भेला ७ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै आज सकिएको छ ।
    प्रदेश समाचार
    76     २०७५ श्रावन ०५ शनिवार
  • मुख्यमन्त्रीलाई जनजाति पत्रकारको ज्ञापन

    हेटौंडा,५ साउनः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशले यहाँका मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ ।
    प्रदेश समाचार
    65     २०७५ श्रावन ०५ शनिवार
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2064     यादव चौलागाईं
  • विश्वकप फुटबलमा नेपाली र म

    १४ आषाढ हेटौंडा । छानामा चढेर एन्टिना हल्लाउदै :- आयो ? भन्दै कराउदै टि. भी क्लियर पारेर श्याम श्वेत स्क्रिन बिश्वकप हेर्नुको मज्जा अहिले चोकमा अर्काले लाइदिएको पर्दामा गएर हेर्ने केटाकेटिहरुले कहाँ चाख्न पाए होला र ? सानो बेलामा श्याम श्वेत टि. भि. मा फुटबल हेर्दा कालोले जित्छ कि सेतो टिमले जित्छ भनेर बाजि थापिन्थ्यो ।
    विचार/दृष्टिकोण
    1644     -नरेन्द्र गुरुङ (अरेन्द्र)
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1530     -कृष्णप्रसाद भट्ट
  • भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद

    हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।
    विचार/दृष्टिकोण
    924     नानीमैया विष्ट
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top