24 Mar 2019   |   
logo
साहित्य/कला

संस्मरण : टेम्पो



साहित्य/कला   ईहेटौंडा अनलाइन     
-बुद्धि सागर केही बर्ष अघि ! मलाई सिनामंगलबाट जमल पुग्नु थियो। म अन्नपूर्ण टेम्पो कुरिरहेको थिएँ। अन्नपूर्ण टेम्पो मात्र सिनामंगलबाट जमल जान्छ। मेरो छेउमै सुन्धारा जाने टेम्पो यात्रु कुरिरहेको थियो।

संस्मरण : टेम्पो


बल्लतल्ल अन्नपूर्ण टेम्पो आइपुग्यो। टेम्पोभरि मान्छे। सिट भरिएर कोही झुन्डिरहेका थिए, एकजना बृद्ध भित्र कुप्रिएर उभिएका थिए। टेम्पो रोकिइरह्यो । चालक अझै एकदुई जनालाई भित्र कोच्न सकिन्छ कि भनेर 'मिलेर बस्नुस्, मिलेर बस्नुस्' भन्दै कराउन थाल्यो ।

मैले पस्ने आँट गरिनँ । आँटै गरे पनि के पस्न सकिँदो हो ! सोचेँ- होस्, सुन्धारा जाने टेम्पो चढ्छु, पुतलीसडकमा झरेर पैदल जमल जान्छु ।

म सुन्धारारुटको १० सिटे टेम्पो चढेँ । मसँगै स्कुले बच्चा डोर्‍याउँदै अधबैंसे मानिस चढे । रित्तो-रित्तो टेम्पो घुइँकियो । अन्नपूर्ण टेम्पो तौल बढी भएको मानिसझैं अल्छीलाग्दो पाराले पछिपछि आइरह्यो ।

भीमसेनगोला चोक पुगेपछि, अन्नपूर्ण रोकियो । त्यसबाट केही मान्छे झरेर म चढेको टेम्पो उक्ले । टेम्पो हिँडयो ।

म एक सुरमा ड्राइभरको काँधमाथिबाट अगाडि हेरिरहेको थिएँ । अचानक पछाडिबाट ठूलो आवाज आयो, 'धड्याम्म्म ।'

लौ जा, बम पड्कियो कि के हो ?

मैले अत्तालिएर पछाडि हेरेँ । बिचसडकमा अन्नपूर्ण टेम्पो उत्तानो परेको थियो । धुलोको ठूलो भुमरी आकाश उक्लिरहेको थियो । सडकका मान्छेहरू टेम्पोतिर कुदिरहेका थिए । मेरो छेउमै बसेकी एक महिला डरले चिच्चाइन् ।

'पांङ्ग्रा खुस्किएछ,' मेरो छेउमा बसेका एकजनाले भने ।

जाम सुरु भो । ट्राफिक प्रहरी सिटी बजाउन थाल्यो । म सोच्नँ थालेँ- टन्नै मान्छे घाइते भए होलान् । अटेसमटेस भिडमा कुप्रिएर उभिएका बृद्धको हालत के भयो होला ? मै चढेको भए, मेरो हाल के हुन्थ्यो, होला ? ज्यान थररर काँप्यो ।

ट्वाल्ल परिरहेका अधबैंशेले मुख खोले, 'म झन्डै त्यै टेम्पोमा पसेको । ड्राइभरले मेरो बच्चा देखेर हुँदैन भन्यो । बाँचे।'

र, उनी स्कुल डे्रसको छोरातिर हेर्दै खिस्स हाँसे ।

मेरो छेउकी महिलाले भनिन्, 'म त त्यै टेम्पो चढेर आकी थेँ, कोटेश्वरबाट । उकुसमुकुस भएर निस्केँ । बाँचे ।'

'अचेल, अन्नपूर्ण टेम्पोलाई दसा ला'छ,' भन्दै चालकले टेम्पो कुदायो, 'अस्ति भर्खरै एउटा ह्वार्रह्वार्ती जल्यो ।'

एउटा ठूलो दसा कटेझैँ मसँगै बसेका यात्रुहरूको अनुहार उज्यालो भयो । एकछिन मौनता छायो ।

'काठमान्डुको बाटो नै यस्तो छ । खाल्टाखुल्टी । गाडीका पाङ्ग्रा खुस्किनै हाल्छन्,' एकजनाले प्याच्च भने ।

'सारा ठेकेदार चोर छन्,' अर्काले थपे, 'एकपल्ट पानी पर्‍यो भने सडकभरि खाल्टाखुल्टी भइहाल्छन् । त्यस्ता ठेकेदारलाई त टुँडिखेलमा डोजरले पेल्नुपर्छ ।'

'अब यो मुलुकमा न्याय कस्ले गर्ने?' अर्काले भने, 'नेताहरू लम्पट भइहाले ।'

'देश त खत्तमै भो ।'

...

'देश त खत्तमै भो,' यी वाक्य मैले लाखौंपल्ट सुनेको छु । रेस्टुराँमा । जमघटमा । अफिसमा । जताततै, सबैभन्दा बढी त टेम्पोमै सुनेको छु । सबैभन्दा देशको चिन्ता गर्ने मानिसहरू टेम्पोमै भेट्छु । टेम्पो यात्रा मलाई त्यही भएर पनि रमाइलो लाग्छ । ठूल्ठूला बसमा त सासै फेर्न गाह्रो हुन्छ । ट्याक्सी त छोयो कि कम्तीमा पचास रुपियाँ लाग्छ । बाइक चलाउने आँट आउँदैन । हिँड्न जहिँतहिँ पेटी भेटिँदैन । त्यही भएर मलाई टेम्पो सजिलो र सहज लाग्छ ।

मैले काठमान्डुमा टेम्पो चढ्न थालेको १७ वर्ष भैसकेछ । १७ वर्षमा मैले 'ब्रान्ड न्यु' टेम्पो चढ्न पाएको छैन । थोत्रो बडी, फोहर, इनामेल उप्किएका, फिलिमका खुइलिएका स्टिकर, बिझाइरहने सिट- याद गर्‍यो भने प्रायः टेम्पोको हालत उस्तै हो । र, प्रायः टेम्पोका ढोका दुईपल्ट 'ढ्याम्म' नपारेसम्म बन्द हँुदैनन् । कुनैकुनै टेम्पोमा रेडियो पनि जडिएका हुन्छन्, ती हुरी चलेझैँ सुसाइरहन्छन् ।

यो १७ वर्षमा मैले चढेको टेम्पोको ड्राइभर पुरुषभन्दा बढी महिला छन् ।

टेम्पो चढ्न सुरु गर्दा यात्रुले मलाई भन्थे, 'भाइ अलि पर सर्नुस्त ।' बिचमा 'दाई उता सर्नुस्त' भन्थे । पछिपछि त 'अंकल उता सर्नुस्त' भन्न थालेका थिए । छोटो दुरीका टेम्पो चढ्दाचढ्दै मैले उमेरको राम्रै दुरी पार गरेछु । काठमान्डुका अधिकांश टेम्पो यात्रीले पनि उमेरको, सपनाको, पीडाको लामो दुरी पार गरेका होलान् । मुलुकले पनि समयको लामै कालखण्ड पार गर्‍यो । समयले टेम्पोमा हुने कुराकानीको बिषयबस्तु र लक्षणा पनि फेरिदिएछ ।

काठमान्डु यौनकुन्ठाले भरिएको शहर हो । सार्वजनिक यातायातमा त्यसका पराकाष्ठा देखिन्थे। टेम्पोमै सँगै बसेकी महिलाका स्तनतिर कुइना सोझ्याउने 'भलाद्मी'हरू हुन्थे । महिलाहरू चुपचाप सहन्थे। अब त महिलाहरू त्यस्तो सहँदैनन् । त्यहीँ चड्कन लगाइदिन सक्छन् । एकपल्ट मेरै अगाडि पान चपाउदै टाँसिन खोज्ने पुरुषको गालामा चड्कन लगाइदिएकी थिइन् । सुन्धारासम्मको पैसा तिरेका पुरुष पुतलीसडकमै ओर्लेका थिए । यसरी फेरिँदै गएको समाज टेम्पोमै देख्न पाइन्छ । पैलापैला दशजनाको सिटमा आरामले दश जना अट्थे । अचेल, एकदुई जना सिटको डिलमा टुसुक्क नबसी अट्नै गाह्रो हुन्छ । १७ वर्षमा काठमान्डुमा मोटोपन ह्वात्तै बढेछ । मोटोपनले थलिएकालाई अन्य यात्रुले आफ्नो छेउमा राख्न चाहँदैनन् । टेम्पो-चालकलाई मोटा मान्छेहरू सत्रु नै लाग्दा हुन् ।

मानिसहरू बिस्तारै सुविधाभागी हुँदै गएका छन् । टेम्पो चढ्ने प्रायः दुई कदम पनि हिँड्न चाहँदैनन् । उनीहरूले भनेकै ठाउँमा टेम्पो रोकिदिनुपर्छ । काठमान्डुको जाम हटाउन ट्राफिक नियम कडा भएपछि त्यसको मार सोझै टेम्पो चालकमा परेको छ । यात्रुले भनेको ठाउँमा टेम्पो रोक्दा नियम मिचिने, नरोके यात्रुले टेम्पोमा मुड्की हानिरहने ।

'एकछिन हिँडे के तपैंको खुट्टा भाँचिन्छ?' एकपल्ट टेम्पोचालक राँक्किएका थिए ।

'चढाउन चैं जहाँ पनि रोक्ने, झार्न नरोक्ने?' यात्रु पनि राँक्किए ।

'तपैंको बुद्धि छैन ? ' चालक झन् बम्किए, 'चढ्न त स्वात्त चढ्नुहुन्छ । उत्रन त टेम्पो रोक्नुपर्‍यो । पैसा साट्नु पर्‍यो । कति टाइम लाग्छ, हिसाब गर्नुस् ।'

टेम्पोमा चालक र यात्रुको झगडा यही कुरामा परिरहन्छ । पैला-पैला टेम्पोभाडा तिर्न ५ सयको नोट निकाल्दा चालकसँग भिड्न तयारै हुनुपर्थ्यो । अचेल ठूलो नोट दिएका कारण झगडा परेको मैले देखेको छैन । हजारको नोट दिए पनि चालकले खुरुक्क साटिदिन्छन् । चालक सुध्रेका होइनन्, नोटको भाउ घटेको हो ।

हेर्दा फुच्चे बाख्राझैँ कुदिरहेको टेम्पो रहस्यमयी समाजको राजदूतजस्तो पनि लाग्छ । अनेकथरी यात्रु, अनेकथरी कुराकानी । अनेकथरी आक्रोश, अनेकथरी पीडा । अनेकथरी परफ्युम, अनेकथरी गन्ध- म टेम्पोमै भेट्छु। र, भेट्छु अनेकथरी कथाहरू।


एकदिन । म राति ८ बजे, सुन्धाराबाट सिनामंगलको टेम्पो चढेँ। मसँगैै रक्सीले मातेका एक बृद्ध पनि चढे । उनले सिटमा बस्ने बित्तिकै टेम्पोचालक दिदीलाई पैसा दिँदै भने, 'म मैतिदेवी झर्ने ।'

उनी टेम्पोको छेउको सिटमा बसेकाथे। बेलाबेला हामफालुँलाजस्तो गर्थे । कमलपोखरी आइपुगेपछि, उनले आत्तिँदै सोधे, 'म कहाँ झर्ने हो ?'

'मैतिदेवी,' मैले सम्झाइदिएँ ।

उनले खिस्स हाँस्दै भने, 'भाइ, जिन्दगीमा कसैको जमानी नबस्नू । म ६ वटा जमानी बसेँ । छ वटैमा धोका खाएँ ।'

उनी बर्बराइरहे ।

मैतिदेवी पुगेपछि मैले उनलाई 'तपैं झर्ने यही हो' भनेर सम्झाइदिएँ । उनी लर्खराउँदै झरे र सोधे, 'भाइ, मेरो घर कतापट्टि छ ?'

...

मलाई कहिलेकाही यात्रा गरिरहँदा लाग्छ- म टेम्पोमा नभएर सदनमा छु । जहाँ अनेक बुँदामा छलफल भइरहेका छन् । सबैका आफ्ना धारणा छन् । आआफ्ना नियत । लाग्छ- हरेक टेम्पो यात्री सभासदभन्दा बढी मुलुकको चिन्ता गर्छन् । देश बनाउने योजनाको फाइल तिनले झोलामै बोकेर हिँडेका छन् । टेम्पो यात्री पहिलाजस्तो बूढाबूढीका कुराकानीमा ध्यान दिँदैनन् । उनीहरु केवल देश, भष्ट्राचार, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता बिषयमा मात्र ध्यान दिन्छन् । चुस्स आफ्ना धारणा राखिहाल्छन् ।

एकपल्ट साँझपख म टेम्पो चढेँ। कमलपोखरी पुग्नु थियो । चालक बृद्ध थिए । सायद ५५ बर्ष । 'चाँडै घर आऊ' भनेर उनलाई तारान्तर फोन आइरहेको थियो । उनी झर्किरहेका थिए । उनी रिसले फन्किँदै टेम्पो कुदाइरहेका थिए । उनले रत्नपार्कतिर टेम्पो हुले । जानु पर्ने त जमल हो । यात्रुहरू मुखमुख गर्न थाले । टेम्पो गलत रुटमा पसिसकेको थियो ।

त्यहीबेला बृद्धचालकले पछाडि मुन्टो बटारेर आत्तिँदै यात्रुहरूलाई सोधे, 'म कहाँ आएँ ?'

मैले देश सम्झेँ ।


-बुद्धि सागर

-प्रस्तुति : महेन्द्र ओझा








सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2118     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1890     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252699 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top