21 Jan 2019   |   
logo
साहित्य/कला

रीता ताम्राकार र उनको 'धनेश्वरकी साहिँली' कथाको विश्लेषण



साहित्य/कला   ईहेटौंडा अनलाइन   २०७५ कार्तिक १९ सोमबार  
१९ कार्तिक हेटौंडा : कथाकार ररीता ताम्राकारको जन्म वि. सं. २०२२ साल जेठ ९ गते पूर्वी नेपालको संखुवासभामा भएको हो । हाल उनी एसओएस बालग्राम इटहरीमा कार्यरत छिन् । २०५३ सालमा 'भत्किएको चाहना' शीर्षकको कथा लेखेर उनी कथा लेखन क्षेत्रमा प्रवेश गरेकी हुन् । यिनको 'तुषारापात' (२०६१) , 'दृश्य परिदृश्य' (२०७३) र 'संवेग' (२०७४) कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । उनी षडानन्द प्रतिभा पुरस्कार (२०७४) , गुन्जन प्रतिभा पुरस्कार ( २०७४) आदिबाट सम्मानित भएकी छिन् ।

रीता ताम्राकार र उनको 'धनेश्वरकी साहिँली' कथाको विश्लेषण


रीता ताम्राकार र उनको 'धनेश्वरकी साहिँली' कथाको विश्लेषण 



१. कथाकार रीता ताम्राकार र उनका कथागत प्रवृत्तिहरू


१.१ रीता ताम्राकारको परिचय

कथाकार ररीता ताम्राकारको जन्म वि. सं. २०२२ साल जेठ ९ गते पूर्वी नेपालको संखुवासभामा भएको हो । हाल उनी एसओएस बालग्राम इटहरीमा कार्यरत छिन् । २०५३ सालमा 'भत्किएको चाहना' शीर्षकको कथा लेखेर उनी कथा लेखन क्षेत्रमा प्रवेश गरेकी हुन् । यिनको 'तुषारापात' (२०६१) , 'दृश्य परिदृश्य' (२०७३) र 'संवेग' (२०७४) कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । उनी षडानन्द प्रतिभा पुरस्कार (२०७४) , गुन्जन प्रतिभा पुरस्कार ( २०७४) आदिबाट सम्मानित भएकी छिन् ।


१.२ रीता ताम्राकारका कथागत प्रवृत्तिहरू


(क) सामाजिक यथार्थवादी प्रवृत्ति : रीता ताम्राकार सामाजिक यथार्थवादी कथाकार हुन् । सामाजिक यथार्थवादी कथाकार भएकालेे उनका कथामा मानिसले भोग्नुपरेको पारिवारिक , सामाजिक , आर्थिक , मानसिक समस्या लगायतका जल्दाबल्दा समाज विषयक घटनाहरूलाई जीवन्त रुपमा उद्घाटन गरी कथामा उल्लेख गर्नु उनको यथार्थवादी शैली हो । 


१.२ नारीवादी प्रवृत्ति : नारीका पक्षमा सशक्त वकालत गर्ने रीता ताम्राकार नारीवादी कथाकार हुन् । उनका प्रायःजसो कथामा नारीलाई केन्द्रीय पात्रका रुपमा उभ्याइ नारी मानसिकताको चिरफार गरिएको पाइन्छ । 


१.३ परिवेशगत प्रवृत्ति : मानव जीवनका विविधतालाई प्रभावशाली ढंगले प्रस्तुत गर्दै र ग्रामीण जीवनका कष्टकर समस्या र शहरी जीवनका संवेदनाहीन पक्ष तथा परिवेशलाई चित्रण गरिएका उनका कथा परिवेशका दृष्टिकोणले सशक्त छन् ।


१.४ पात्रगत प्रवृत्ति : ताम्राकारका कथामा पहिलो पुस्ता र दोस्रो पुस्ता तथा ग्रामीण र शहरी पात्रहरूको चयन गरी पात्रगत विविधता कायम गरिएको छ । पात्रका नामहरूमा नवीनता पाइन्छ । पुस्तान्तर तथा ग्रामीण र शहरी परिवेशका पात्रहरूबीच आवश्यक द्वन्द्व र फरक मानसिकताको चित्रणमा उनी सफल देखिन्छिन्  ।


१.५ दृष्टिविन्दुगत प्रवृत्ति : रीता ताम्राकारका अधिकांश कथाहरू प्रथम पुरुषीय दृष्टिविन्दुमा सिर्जना गरिएका छन् । 'म' पात्रको केन्द्रीययताबाट सिर्जित कथामा कथाभित्र स्वयम् कथाकारको उपस्थिति र पात्रगत सूक्ष्म ग्रन्थिको विश्लेषण गर्ने दृष्टिविन्दुगत शैली उत्कृष्ट पाइन्छ ।


१.६ सारवस्तुगत प्रवृत्ति : सन्दर्भ र घटना अनुकूल सारवस्तु प्रस्तुत गर्नु र पात्रअनुसार विचार अभिव्यक्त गर्नु रीता ताम्राकारको सारवस्तुगत प्रवृत्ति हो ।


१.७ भाषाशैलीगत प्रवृत्ति : रीता ताम्राकारको भाषा सरल, सहज र स्वभाविक रहेको छ । नेपाली जनजिब्रोमा झुण्डिएका शब्दहरूको अधिक प्रयोग गर्नु उनको भाषागत विशेषता बन्न पुगेको छ ।


२.'धनेश्वरकी साँहिली' कथाको विश्लेषण 


२.१ कथानक : 'धनेश्वरकी साँहिली रीता ताम्राकारको 'संवेग' (२०७४) कथासङ्ग्रहमा संकलित चौथो कथा हो । यस कथामा एउटा श्रमजीवीले श्रम , सीप  खर्चेर ठड्याएको घरमा पैसा तिरेर समेत डेरा नपाएको मार्मिक अवस्थाको चित्रण गरिएको छ । श्रम मान्छेको उच्चतम कार्य र गहना हो । उमेर छँदा श्रम नगर्ने मान्छे यो धरतीमा बाँच्नु बेकार छ । श्रम गरेपछि उसका आफ्ना आधारभूत आवश्यकता भने पूरा हुनुपर्छ । तर अहिलेको समाज बनोटको आधार हेर्दा पसिना बगाएर श्रम गर्नेहरू कतै पौष्टिक आहार , सन्तुलित भोजन नपाएर , कतै बस्ने वासको अभावले त कतै आफ्ना सन्तानको शिक्षादीक्षा र दुःख बिमार पर्दा आवश्यक उपचारको अभावमा जीवन व्यतित गर्न विवश छन् । यस कथाले श्रम गर्दागर्दै जीवन धान्न कठिन भएपछि जोडेको ऐलानी जग्गा र त्यसैमा बनाएको दुई कोठे घरसमेत बेच्न बाध्य धनेश्वरको व्यथा र पहिले आफूले नै मेहनत र लगावका साथ समय र पसिना खर्चेर निर्माण गरेको घरमा घरभेटीले भाडा तिरेर पनि डेरा नदिएको मार्मिक अवस्थाको सशक्त चित्रण गरेको छ ।


'धनेश्वरकी साँहिली' कथाले हाम्रो देशको शासनव्यवस्था र सामाजिक , आर्थिक बनोट / संरचना कामदारमैत्री छैन भन्नेतर्फ स्पष्टताका साथ संकेत गरेको छ । काम गर्नेहरूको हालत क्रमशः खस्कदैं , बिग्रदैं गइरहेको र अरुलाई काममा दलाएर आफ्नो स्वार्थ कामदारबाट र राज्यव्यवस्थाबाट समेत पूरा गर्न सक्षम हुने खाने वर्गहरूप्रति रोश प्रकट गर्न खोजेको देखिन्छ ।


२.२ पात्रविधान : 'धनेश्वरकी साँहिली' कथाको प्रमुख पात्र धनेश्वरकी जीवनसंगिनी 'साँहिली' हो भने सहायक पात्रहरू धनेश्वर , मिस्त्री र कामदार महिला हुन् । साँहिली एक आम महिला हो , जस्तै श्रीमानको सेवा र माया गर्ने , हाँसोखुशी , दुःख , रोदन जस्ता गुण र लक्षण उसमा पनि प्रष्ट देखिन्छ । दुःख गरेर जोडेको ऐलानी जग्गामा आफ्नै सानो घरमा बस्न पाउँदा ऊ संसार जितेजस्तै खुशी हुन्छे । साहुको घर ठेक्कामा लिएर बनाउँदा लागेको ऋण र गुजारा चलाउँदै गर्दा आर्थिक रुपमा जर्जर भएको परिवार चलाउँदा उसको मनमा हुण्डरी चलेको छ । घर छोड्नुपर्दा पीडामा  डुब्छे साँहिली । आफ्नो भाग मीठो मसिनो समेत लोग्नेले नै खाइदेओस् भन्ने चाहना राख्ने साँहिली धनेश्वरलाई हृदयदेखि नै माया गर्छे ।  र अन्तमा जे भएपनि धनेश्वरलाई 'पहिला पनि नभएको घर गुम्दा कति पीर गर्छौ ? आफैले बनाएको घरमा पैसा तिरेर डेरासम्म पाएनौ के पीर गर्छौ भनेर हाँसेर लोग्नेको मनमा बितिरहेको व्यथालाई हलुका बनाउने प्रयास गर्छे । साँहिलीले कथालाई मार्मिक र जीवन्त बनाएकी छे ।


धनेश्वर पनि कथाको मुख्य पात्रकै रुपमा शुरुदेखि अन्त्यसम्म छाएको छ । साँहिलीको सुखदुःखमा सधैं सँगसँगै छ ऊ । काम गर्छ , भौतारिन्छ , मनमा कुरा खेलाउँछ र आफ्नो मेहनत र पसिनाले जोडेको घरजग्गा जोगाउन नसकेकोका आफैंलाई धिक्कार्छ । मिस्री र कामदार महिलाले कथामा रोचकता थपेका छन् । आवश्यकता अनुसार उनीहरूले आफ्नो कर्तव्य पूर्ण पालना गरेका छन् । घरबेटीको प्रसंग पटकपटक आएपनि प्रतक्ष्यरुपमा उसको उपस्थिति देखिदैन ।


२.३ परिवेश : 'धनेश्वरकी साँहिली' कथाको परिवेश हाल फस्टाउँदै गइरहेको नव धनाढ्यवर्गको उदय र उनीहरूले निर्माण गर्ने बिल्डिङहरूमा श्रममा खटिएका कामदारहरूको खस्कदोँ जीवनस्तर हो । हुने खाने र हुँदा खाने , सामन्त र किसान , मालिक र कामदारबीचको खाडल नयाँ समस्या होइन । समयसमयमा यी दुई वर्गकाबीच सानाठूला संघर्षहरू पनि नभएका होइनन् । तर श्रमिकहरूले संघर्ष गरेर प्राप्त गरेका अधिकारहरू कतिपय कागजमै सीमित छन् भने ठाउँ पाएका श्रमिकहरू कालान्तरमा आफैं मालिक बनेका र आफ्नो पुरानो अवस्था बिर्सेर कामदारलाई पेल्ने , होच्याउने र दबाउनेजस्ता काममा संलग्न बनेको स्थिति छ । भवन निर्माणस्थलमा धनेश्वर र कामदारबीचको रसिलो वार्तालाप अनि साँहिलीको घरमा बुढाबुढीबीच भएको सुखदुःखका गन्थन यस कथाको परिवेशले प्रकट गरेको छ ।


२.४ दृष्टिविन्दु : यस कथाको दृष्टिविन्दु उनका अन्य कथाभन्दा फरक अर्थात बाह्य / तृतीय पुरुषीय सीमित रहेको छ । कथानकमा स्वयं  आफैं पसेर सूक्ष्मातिसूक्ष्म कणहरू केलाउँदै शब्दहरू खेलाउन खप्पिस रीता ताम्राकार यो कथामा भने धनेश्वर (ऊ) , साँहिली (उनी ) र उनीहरूको प्रयोगमार्फत पात्रहरूको व्यवहार र मनोदशा प्रस्तुत गर्न सक्षम देखिन्छ ।


२.५ सारवस्तु : सुन्दर संसार निर्माण गर्ने भनेको मजदुरहरूले हो । उनीहरूको श्रम , सीप र पसिनाले नै हामी हाम्रो समाजलाई समुन्नत र सम्वृद्ध बनाउन सक्छौं । समाजका त्यस्ता महत्वपूर्ण व्यक्तिहरूलाई हामीले र हाम्रो समाजले भने साँच्चिकै उचित स्थान दिएको छ त ? गम्भीर भएर सोच्न , मनन गर्न र तदनुरुप व्यवहार गर्न यो कथाले घच्घच्याएको छ । सत्ताको बागडोर सम्हालेका नेताहरू , नीतिनिर्माताहरू र हामी स्वयंले (प्रत्येक मानवले) यसलाई हाम्रो आफ्नै सवाल र समस्या हो भन्ने ठान्नुपर्छ भन्ने मूलभूत सारवस्तुलाई यस कथाले ध्वनित गरेको छ ।


२.६ भाषाशैली : 'धनेश्वरकी साँहिली' कथामा ताम्राकारले ग्रामीण अनि निम्नवर्गीय परिवार र जनवीवनमा प्रयोग गरिने बोलीचालीमा प्रयोग हुने भाषाको प्रयोग गरिएको छ ।जस्तै , धनेश्वर भन्छ , "मलाई बिहानको चिसो दे । तँ तातो खा।" साँहिली भन्छे , "त्यस्तो पापिनी देख्यौ मलाई ?"


कथामा संवादात्मक शैलीको बढी प्रयोग गरिएको भए पनि  ठाउँ ठाउँमा दृश्यात्मक शैली र पूर्वदीप्ती (फ्ल्यास ब्याक) को समेत प्रयोग गरिएको छ ।



-कुमार काफ्ले

प्रस्तुति : महेन्द्र ओझा 







सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1549     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1404     हेटौंडा अनलाईन संवाददाता
5995008 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top